×

आइजीपी कुँवरलाई विवादमा मुछ्नु अत्यन्त निन्दनीय

images

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी महानिरीक्षक(आइजीपी) बसन्त बहादुर कुँवरको नाम मुछिएपछि नेपाल प्रहरीले विवादमा तानिनु अत्यन्त निन्दनीय भएको जनाएको छ।

बुधबार विज्ञप्ती जारी गर्दै प्रहरीले आइजीपी कुँवरलाई विवादमा मुछ्नु अत्यन्त निन्दनीय भएको जनाएको छ।

जेठ ९ र १० गते विभिन्न अनलाइनहरूमा नक्कली शरणार्थी प्रकरणमा आईजिपीकै भूमिका शंकास्पद भन्ने शीर्षकमा प्रकाशित समाचारप्रति नेपाल प्रहरी प्रधान कार्यालयको गम्भिर ध्यानाकर्षण भएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका तत्कालीन प्रमुख (हाल प्रहरी महानिरीक्षक) बसन्त बहादुर कुँवरले “नक्कली भुटानी शरणार्थी बनाउने प्रकरण” को मुद्दाका आरोपीतहरुसँग सम्पर्क रहेको, पूर्व गृहमन्त्रीलाई जोगाउन प्रयास गरेको लगायतका काम गरेको भन्दै समाचार सम्प्रेषण गरेको पाइएको भन्दै प्रहरी प्रवक्त कुवेर कडायतद्धारा हस्ताक्षरीत विज्ञप्तीमा भनिएको छ, ‘कुनै आधार, तथ्य र प्रमाण विना अपराध अनुसन्धान जस्तो संवेदनशिल विषयमा सम्प्रेषण गरिएको समाचारले जनमानसमा भ्रम सिर्जना हुन जाने र नेपाल प्रहरी संगठनकै विश्वसनियता, छवि तथा चेन अफ कमाण्डमा समेत आँच आउने हुँदा उक्त समाचारहरूप्रति नेपाल प्रहरी प्रधान कार्यालय पूर्ण असहमति प्रकट गर्दछ। कुनै दुई व्यक्तिले गरेको संवादकै आधारमा शरणार्थी प्रकरणका आरोपीतबाट प्रहरी प्रमुख स्वयंले नै आर्थिक फाइदा लिएको भन्ने अतिशयोक्ति तथ्य स्थापित गर्न खोजी प्रहरी महानिरीक्षकलाई विवादमा तानिनु अत्यन्त निन्दनीय छ।’

विज्ञप्तीमा भनिएको छ, ‘नक्कली शरणार्थी प्रकरणमा नेपाल प्रहरीले नै सफल अनुसन्धान गरी मुद्दा पेश गरिसकेको अवस्थामा कल्पित रूपमा समाचार बनाई आरोपीत भगाउन प्रहरी महानिरीक्षक नै संलग्न भएको भनी प्रचारबाजी गरिनु संगठनकै लागि अत्यन्त दुःखद कुरा हो ।

नेपाल प्रहरी सदैव संविधान, कानून र संगठनको आफ्नै मूल्यमान्यतामा अडिग रही दोषी नछुटुन, निर्दोष नफसुन भन्नेमा सचेत र प्रतिबद्द छ । अपराधी जोसुकै होस उसलाई बचाउन हैन सजाय दिलाउनका लागि नागरिक र प्रहरी दुवैको सहकार्य र समन्वय हुनुपर्नेमा कुनै आधार, तथ्य प्रमाण बिना नै महानिरीक्षकलाई नै विवादमा तानेर अपराधी जोगाउन प्रयासरत रहेको भनिनुले समग्र संगठनको छविमा आँच पुगेको छ।

 

 

बुधबार १० जेठ २०८० ०९:३७ PM मा प्रकाशित

प्रतिक्रिया