×

शरणार्थी प्रकरणमा विशेष संसदीय समिति बनाएर छानबिन गर्नुपर्छ : सभापति रवि लामिछाने

images

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले शरणार्थी प्रकरणमा संसदीय विशेष समिति बनाएर छानबिन गर्नुपर्ने बताएका छन्। बुधवार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै लामिछानेले राज्यका अनुसन्धान गर्ने कुनै निकायको विश्वास गर्न सकिने अवस्था नभएको भन्दै संसदीय समिति बनाएर निष्पक्ष ढङ्गले छानबिन हुनुपर्ने बताएका हुन् । 

उनले भने– ‘भ्रष्टाचार विषयलाई हामीले बारम्बार कुरा उठाउँदै आएका छौँ । ३ राजनीतिक दल बसेर खुसुर खुसुर गरेको विषयमा आशङ्का व्यक्त गर्दै आइरहेका छौँ । आज कुनै राजनीतिक दल बाँकी रहेको छैन जसलाई आरोप लाग्न बाँकी रहेको होस् । यति मात्र हैन राज्यका पदाधिकारीहरू, अनुसन्धान गर्ने त्यसका निकायका प्रमुखहरूको नाम आइरहेको छ ।’

उनले अगाडि भने– ‘यो कुनै अँध्यारो कोठामा कुनै गल्लीमा भएको क्रियाकलाप छैन, दिउँसै दिन दहाडै दिनको उज्यालोमा प्रधानमन्त्री कार्यालय बालुवाटारमा मन्त्री क्वाटरमा, मन्त्री बस्ने सिंहदरबारमा लेनदेन भएका यस्ता विषय आइरहेका छन् । यहाँ मुछिएका मान्छेहरू हेर्नुस्, यो देशमा हामीले कसलाई विश्वास गर्ने ।

त्यसकारण यो विश्वासको वातावरण बन्द भएको छ, यसका लागि संसदीय विशेष समिति बनाएर यसको छानबिन गर्नुपर्ने हुन्छ । जुन जुन यसमा लागेका छन्, कसैको पनि विश्वास गर्ने वातावरण नभएकोले सम्माननीय सभामुखमार्फत यो अनुरोध गर्न चाहन्छु कि जस जसको नाम आएको छ तिनीहरूलाई छानबिनको दायरामा ल्याउन नहुने, सोधपुछ समेत गर्न नहुने गरी किन डराएको हो ?’

'गृहमन्त्रीले मुटु दरो छ, प्रधानमन्त्रीले मुटु दरो छ भन्नुभएको थियो, उहाँको मुट कहाँ गएर चेक गर्ने?' उनले भने, 'हाम्रा हकमा बयान दिन आउँछु भन्दाभन्दै धरकपड गरेर लिएर गएको इतिहास छ, न्युजरूमबाट समातिएको मान्छे म यहीँ छु। एकपटक सोधपुछका लागि बोलाउन नहुने को हो उहाँहरू? यो गम्भीर विषय छ। हरेक नाम आएका व्यक्तिसँग सोधपुछ गर्नुपर्‍यो। कारवाहीको दायरमा ल्याउनुपर्‍यो।'

यो प्रकरणले नेपालको ठुलो अन्तर्राष्ट्रिय बेइज्जत भएको भन्दै लामिछानेले सो प्रकरणमा जोडिएकाहरूको छानबिन गर्न माग गरे ।

बुधबार १० जेठ २०८० १२:२० PM मा प्रकाशित

प्रतिक्रिया