×

स्थानीय चुनावका लागि राजनीतिक दल गाउँमा

images

कालीकोट जिल्लाका प्रमुख राजनीतिक दलहरू स्थानीय तहको निर्वाचनलाई लक्ष गर्दै गाउँ पस्न थालेका छन् । सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचनका लागि  मिति घोषणा गरेपछि नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र) र अन्य साना दलले गाउँ प्रवेश अभियान थालेका हुन् । 

दलका नेताले गाउँमा गएर कार्यकर्ता भेटघाट, पार्टी भेला, प्रशिक्षण, बैठकलगायत कार्यक्रमलाई तीव्रता दिएका छन् । आगामी वैशाख ३० गते हुने निर्वाचनलाई लिएर अहिले गाउँ गाउँमा अभियान नै थालिएको नेपाली कांग्रेसका जिल्लासभापति अम्मबहादुर शाहीले बताउनुभयो । “पार्टीलाई जिताउका लागि  गाउँगाउँमा कार्यकर्ता भेटघाट, घरदैलो र भेला सुरु गरिसकेका छौँ,’’ उहाँले भन्नुभयो,“पार्टीका नेताको कार्यविभाजनअनुसार गाउँ गाउँमा अहिले नेता तथा कार्यकर्ताको सक्रियता बढाइएको छ ।”
जिल्लाका नौवटै स्थानीय तहमा आगामी चुनाव लक्षित कार्यक्रम गर्दै पार्टी प्रवेश तथा कार्यकर्ता भेला र सङ्गठन विस्तारमा लागिएको नेकपा (एमाले)का जिल्लाअध्यक्ष जसीप्रसाद पाण्डेले बताउनुभयो । 

‘‘चुनाव नजिकिँदै गएको छ । सम्भावित उम्मेदवार छान्न र आगामी चुनावका लागि अहिले हामीले गाउँ गाउँमा अभियान थालेका छौँ,’’ उहाँले भन्नुभयो,“चुनाव आइसक्यो । प्रचारप्रसारलाई तीव्र पारिएको छ ।” माओवादी केन्द्रले अहिले गाउँ गाउँमा गएर वडा तथा टोल भेला गरेर आगामी चुनावका एजेण्डासहित अभियानकै काम अगाडि बढाइएको जिल्ला अध्यक्ष लक्ष्मीप्रसाद चौलागार्इंले जानकारी दिनुभयो ।

 ‘‘हामी विगतमा पाँच स्थानीय तहमा विजयी भएका थियौँ ।’’ उहाँले भन्नुभयो, “यो पटक थप स्थानीय तहमा विजयी हुने गरी अभियान थालेका छौँ ।” पार्टीलाई मजबुत बनाएर एकीकृत रुपमा अगाडि बढाउनाका साथै अहिले सबै स्थानीय तहमा भेला, गोष्ठी, सङ्गठन विस्तारको अभियान चलाइएको नेकपा (एकीकृत समाजवादी) का जिल्लाअध्यक्ष विश्वराज बमले बताउनुभयो । ‘‘हामीले सङ्गठन सुदृढीकरण र  विस्तारको अभियान थालेका छौँ, ’’ उहाँले भन्नुभयो,“हामी सबै नेता तथा कार्यकर्ता  गाउँमा छौँ ।”
जिल्लाका साना दलहरु राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदूर किसान पार्टी, राष्ट्रिय जनमोर्चालगायत दलले पनि  स्थानीय चुनाव लक्षित अभियानमा लागेको बताएका छन् । 
 

बिहीबार १२ फागुन २०७८ ०४:४७ PM मा प्रकाशित

प्रतिक्रिया