×

सरकारले १०० दिनको प्रगति सार्वजनिक गर्दै, प्रधानमन्त्रीले ३ बजे सम्बोधन गर्ने

images

काठमाडौं ।  सत्तारुढ दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । आजै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सय दिनमा गरेको कामको विवरण सार्वजनिक गर्ने तयारी गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आज प्रधानमन्त्रीले दिउँसो ३ बजे सरकारले सय दिनमा गरेको कामको विवरण सार्वजनिक गर्दैछन् । सय दिनको उपलब्धि सार्वजनिक गर्नुअघि सत्ता गठबन्धन दलसँग छलफल गर्न लागिएको बुझिएको छ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम,सरकारको काम-कारबाहीबारे पनि छलफल हुने बताइएको छ ।

एमाले अध्यक्ष ओलीलाई असार ३० गते राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गरेका थिए । माओवादी-रास्वपालगायतका दलको गठबन्धन टुटाएर एमालेले कांग्रेससँग मिलेर सरकार बनाएको थियो । ओलीलाई कांग्रेस, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनता समाजवादी पार्टी नेपाल समर्थन गरेका छन् । जनमत र जसपा नेपालले भने सरकारबाहिरै रहेर उनलाई समर्थन गरेका हुन् ।

सय दिने प्रगति विवरण सार्वजनिक गर्नुअघि अहिले सत्तारुढ दलको बैठक बसिरहेको छ ।

बुधबार ७ कात्तिक २०८१ १२:१२ PM मा प्रकाशित

प्रतिक्रिया