×

२०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल

images

 मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
यो महिना सूर्यको गोचर तपाईंको राशिबाट छैठौं भावमा हुनेछ। यो महिना तपाईंको लागि फाइदाजनक रहन सक्छ। यो समयमा तपाईंले अचल सम्पत्तिको खरिद गर्ने योजना बनाउन सक्ने सम्भावना देखिन्छ । त्यस्तै जग्गाजमिन वा पैतृक सम्पत्तिसम्बन्धी कुनै झमेला वा विवाद छ भने समस्या समाधान हुनसक्छ । नोकरी र व्यावसायिक जीवनमा सुधार आउने छ । प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ । मुद्दामामिला वा सरकारी काममा सफलता मिल्नेछ । पछाडि कुरा काट्नेहरू आफैं चुप लाग्नेछन । कुनै विशेष कार्य योजना बनाउँदै हुनुहुन्छ भने गोपनीयतामा जोड दिनुहोला । सरकार, प्रशासन वा अड्डा अदालतका काममा सफलता मिल्नेछ । तर छैटौं भाव झगडा र रोगको घर भएकाले समय अनुकूल नै भए पनि व्यक्तिगत स्वास्थ्य र आहारविहारमा सचेतता अपनाउनु जायज हुनेछ । रिस र आवेगमाथि भने कन्ट्रोल गर्नु आवश्यक छ । जीवनसाथीको स्वास्थ्यस्थितिप्रति समेत सचेत हुनु आवश्यक छ । 

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
यो महिना सूर्यको गोचर तपाईंको राशिबाट पञ्चम भावमा हुनेछ। यो महिना तपाईंको कार्यक्षेत्र र व्यापारमा उन्नति हुन सक्छ । मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । आम्दानीमा वृद्धि हुनेछ, तर महत्त्वाकाङ्क्षा बढ्नाले सन्तुष्टि भने नहुन सक्छ । यो नयाँ व्यवसाय सुरू गर्न चाहनेहरूका लागि पनि अनुकूल समय छ । सरकारी काम वा सरकारसम्बद्ध क्रियाकलापमा संलग्न व्यक्तिले राम्रो कमाइ गर्ने समय आएको छ । यस अवधिमा विद्यार्थीहरूका लागि केही समस्या उत्पन्न हुने समय छ, पढाइलेखाइ र बौद्धिक क्रियाकलापका लागि उचित समय व्यवस्थापन गर्न आवश्यक छ । अन्यथा पछाडी परिनेछ । पेसा वा व्यवसायमा फेरबदल गर्ने चाहना हुनेले यो महिना गरेको प्रयास लाभदायी हुनेछ ।स्वास्थ्य पनि उचित ध्यान दिनु आवश्यक छ।  गृहस्थीहरूका लागि छोराछोरीको चिन्ताले सताउने समय छ । बालबच्चाको खानपिन र स्वास्थ्यस्थितिप्रति सचेत हुनुपर्छ । प्रेम प्रसंगका लागि यो त्यत्ति राम्रो महिना देखिंदैन । प्रेम जीवनमा उतारचढाव आउनेछ। आफ्नो सम्बन्ध प्रति जिम्मेवार बन्नु आवश्यक छ । 

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
यो महिना सूर्यको गोचर तपाईंको राशिबाट चौथो भावमा हुनेछ। आर्थिक पक्ष मजबुत देखिन्छ, व्यवसाय वा नोकरीको सन्दर्भमा वा वैदेशिक प्रयोजनको काममा घरबाहिर जानु पर्ने परिस्थिति बन्नेछ । यो समयावधि व्यावसायिक गतिविधिमा संलग्न व्यक्तिले पर्याप्त लाभ पाउने महिना हुनेछ । आयआर्जनका नयाँनयाँ अवसरहरू मिल्नेछन । भौतिक सामाग्री, भोगविलास र सुखसुविधामा बृद्धि हुने समय हो, कमाएको धन सञ्चित गर्न कठिन हुनेछ। सरकारी क्षेत्रमा कार्यरत व्यक्तिका लागि कार्यक्षमता र दक्षतामा बृद्धि हुनेछ । सहकर्मीहरूको समर्थन प्राप्त हुनेछ ।  सूर्यले प्रदान गर्ने सकारात्मक फल यी भए पनि चतुर्थ भावमा प्रभावले मानसिक चिन्ता बढ्न सक्नेछ । मातापिताको स्वास्थ्यस्थिति कमजोर हुन सक्छ । खासगरी पिता वा कार्यक्षेत्रमा उच्च अधिकारीसँग मनमुटाव हुन सक्छ।  पेटसम्बन्धी समस्या स्वास्थ्यमा आउन सक्छ। प्रेमसम्बन्ध र दाम्पत्यजीवनका लागि सामान्य रहने छ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
यो महिना सूर्यको गोचर तपाईंको राशिबाट तृतीय भावमा हुनेछ। यस गोचरको प्रभावले तपाईंमा आत्मबल तथा हिम्मत बढ्नेछ । पराक्रम र प्रसिद्धिमा वृद्धि हुनेछ । यात्राहरु फलदायी रहन सक्छन् । पारिवारिक जीवन सुखद रहनेछ । सामाजिक र परोपकारी काममा सहयोेग लिन र दिन सकिनेछ । व्यक्तिगत सम्बन्धहरूमा सुधार हुनेछ, आत्मिक आनन्द र सुखको अनुभूति गर्न पाउनु हुनेछ । कार्यक्षेत्रमा उन्नतिप्रगतिको अवसर मिल्नेछ । धार्मिक क्रियाकलापमा रूचि बढ्ने छ । दान र सहयोग गर्न केही रकम खर्च गर्नुपर्ने हुन्छ । पारिवारिक तथा प्रेम जीवन सामान्य रहन सक्छ। तर भाइबहिनीसँग मनमुटाव हुनसक्ने समय हो, त्यसैले पारिवारिक विवाद र कलहमा सामन्जस्यको भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । लक्ष्यप्राप्तिका लागि कडा मिहिनेत गर्ने समय आएको छ, बहुप्रतीक्षित इच्छा, आकाङ्क्षा र उद्देश्य सफल हुनसक्छन् । आकस्मिक रूपमा धनप्राप्तिको सम्भावना समेत छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
यो महिना सुर्यको गोचर तपाईंको राशिबाट दोश्रो भावमा हुनेछ । कार्यक्षेत्रमा सफलता प्राप्त हुन सक्छ भने सामाजिक क्षेत्रमा ईज्जत तथा प्रतिष्ठा बढ्नेछ । धनसम्पत्तिको सञ्चय गर्ने मानसिकता बन्नेछ, तर आर्थिक दृष्टिले यस अवधिमा लाभ लिन धेरै संघर्ष गर्नु आवश्यक देखिन्छ । दीर्घकालिक लगानी र कारोबारप्रति सचेतता अपनाउनु आवश्यक छ । सरकारी काम वा उच्च अधिकारीहरूसँगको भेटघाटले केही मुनाफा कमाउने अवसर प्राप्त हुनेछ । सूर्यको यस गोचरको प्रभावले विद्यार्थीहरुले राम्रो नतिजा प्राप्त गर्नेछन । यो महिना प्रेम जीवन र दाम्पत्य सम्बन्धमा उतारचढावका सम्भावना देखिन्छन् । व्यापार र पेसागत जीवनमा पनि शुभफल र सन्तोषजनक परिणाम प्राप्त हुनेछ । यो महिना तपाईको बोलीमा कडापन देखिने छ, त्यसैले यो कुरामा ध्यान दिनु आवश्यक छ । यसै अवधिमा आवेग, क्रोध र अहंकार पनि बढ्ने खतरा छ, शारीरिक तनाव र बोझ बढ्नाले मन विचलित हुनसक्छ सचेत रहनु उत्तम हुनेछ ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )
यो महिना सुर्यको गोचर तपाईंको राशिमा अर्थात् लग्नमा हुनेछ। यो महिना तपाईंले पेसा, व्यवसाय, रोजगारी आदिमा राम्रा र शुभ अवसरहरू प्राप्त गर्न सक्नुहुन्छ । सार्वजनिक क्षेत्र अथवा सरकारको कुनै महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुनसक्छ । सरकारी काम र मुद्दा मामिलामा लाभ प्राप्त हुनेछ । तपाईं सरकारी ओहोदामा वा राजनीतिमा सक्रिय हुनुहुन्छ भने सूर्यको प्रभावले तपाईंलाई फाइदा हुनेछ । यस समयमा तपाईं मानसिक रूपले सबल, उत्साही, साहसी बन्नुहुनेछ । तपाईं भित्र मानसिक, शारीरिक, सामाजिक र बौद्धिक हैसियतमा वृद्धि हुनेछ । पदोन्नति वा स्तरवृद्धिको अवसर प्राप्त हुनेछ । घरपरिवारको साथसहयोग प्राप्त हुनेछ । आर्थिक पक्ष पनि मजबूत नै रहने छ । सामाजिक सङ्घसंस्था वा परोपकारका क्षेत्रमा सहयोग गर्नु पर्नेछ । लक्ष्य प्राप्त गर्न प्रयास गर्दा सफलता मिल्नेछ। आवश्यकताभन्दा बढी आत्मविश्वासको सिर्जना हुनेछ जसले तपाईंमा अहंकार को भावना पनि विकसित हुनसक्छ । स्वास्थ्यमा सामान्य उतारचढाव आउन सक्छ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते )
यो महिना सुर्यको गोचर तपाईंको राशिबाट बाह्रौं भावमा हुनेछ । यो महिना विदेश जान चाहनेहरुको काम पुरा हुन सक्छ भने विदेशमा  रहने व्यक्तिहरुले केहि सफलता वा प्रगति गर्ने सामान्य सम्भावना रहन्छ।  यो महिना वैवाहिक जीवन र प्रेमसम्बन्धका लागि सामान्य समय छ । छात्रछात्राले शैक्षिक उद्देश्यले वैदेशिक यात्राका निमित्त प्रयास गर्ने समय हो । छैटौं भावमा सूर्यको पूर्णदृष्टि हुने भएकाले यस अवधिमा मुद्दामामिला वा झैझगडाजस्ता क्षेत्रमा विजय प्राप्त हुनसक्छ भने शत्रुहरूमाथि प्रभुत्व जमाउन सक्ने सम्भावना छ । अनावश्यक खर्चमा नियन्त्रण गर्नुपर्छ । यस अवधिमा क्षणिक आवेग र उन्मादलाई नियन्त्रण गर्नु राम्रो हुन्छ । टाउको दुख्ने वा ज्वरोजस्ता समस्याले दुःख दिनसक्छ । पारिवारिक तथा प्रेम जीवनमा पनि केहि असमझदारी तथा झगडाहरुको सम्भावना रहेकाले मिलेर समझदारीमा रहनुपर्छ। 

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु )
यो महिना सुर्यको गोचर तपाईंको राशिबाट एघारौँ भावमा हुनेछ। तपाईंका लागि यो समय राम्रो रहन सक्छ । यो समयमा तपाईंको आम्दानी बढ्न सक्छ । कार्यालयमा उच्च तहका कर्मचारीले सहयोग र समर्थन गर्नेछन्। तपाईंले नयाँ रोजगारी पाउने वा नयाँ व्यवसाय प्रारम्भ गर्ने परिस्थितिसमेत बन्नसक्छ । हरेक प्रयासमा कुनै न कुनै लाभ मिल्ने हुँदा मन प्रसन्न रहने छ । गरेका प्रयासमा चौतर्फी उन्नति हुने भएकाले समाजमा तपाईंको इज्जत र प्रतिष्ठामा अझ वृद्धि हुनेछ । परीक्षा, प्रतियोगिता को तैयारी गरिरहेका जातकका लागि यो महत्त्वपूर्ण समय हो । यस पटकको मिहिनेतले नयाँ जागीर तपाईंको हातमा आउने छ । स्वयं आफैंले वा जीवनसाथीले बढुवारप्रशंसा पाउने योग छ । यस समयमा गरिएका कारोबारहरू सफल हुनेछन् । पारिवारिक जीवन पनि राम्रो रहन सक्छ र परिवारको साथसहयोग मिल्न सक्छ। आय आर्जनका मार्गमा सुधार आउने छ ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )
यो महिना सुर्यको गोचर तपाईंको राशिबाट दशम भावमा हुनेछ । यो समय तपाईंको लागि राम्रो रहन सक्छ। व्यवसायीहरूले आफ्नो व्यापारिक क्षेत्रमा उन्नति गर्ने समय छ । यस अवधिमा तपाईंको मानसम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ। भविष्यलाई दृष्टिमा राखी तपाईंले कतिपय विषयमा महत्त्वपूर्ण र साहसी निर्णय लिने महिना पनि हो । व्यापारीहरूले राम्रो मुनाफा कमाउने समय हो । कमाएको धन सञ्चित हुन सक्छ । रोकिएका कामहरु पनि यो समयमा पूरा हुन सक्छन्। विद्यार्थीले चाहेको उपलब्धी हासिल गर्नसक्ने समय हो । समग्रमा यो महिना अत्यन्त क्रियाशील र व्यस्त रहने महिना रहनेछ। मातापिता र वरिष्ठ व्यक्तित्वको सहयोग र सद्भाव मिल्नेछ । यस अवधिमा गरिएको कडा मिहिनेत र परिश्रमको राम्रो परिणाम पाउन सक्नु हुनेछ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )
यो महिना सुर्यको गोचर तपाईंको राशिबाट नवम भावमा हुनेछ । शरीरमा उत्साह र ऊर्जा रहनेछ भने मानसम्मान र प्रतिष्ठामा वृद्धि हुन सक्छ। भाग्यले राम्रो साथ दिन सक्छ । कार्यक्षेत्र र व्यापारको क्षेत्रमा पनि सकारात्मक समय हुनेछ । विदेश यात्रा वा वैदेशिक प्रयोजनका कामबाट फाइदा हुनेछ । यो सामाजिक गतिविधि, परोपकारी काम र दानधर्मको समय पनि हो । सामाजिक, धार्मिक तथा सांस्कृतिक क्षेत्रमा रुचि हुनेछ। अध्ययन अध्यापनमा रुचि बढ्नेछ, परीक्षा, प्रतियोगिता र प्रतिस्पर्धामा सफल हुन सकिन्छ। उच्च पदमा प्रतिष्ठित व्यक्तिहरूसित भेटघाट हुने तथा सल्लाह र सद्भाव प्राप्त हुने देखिन्छ । विश्वासको वातावरण बन्नाले व्यावसायिक एवं रोजगारीका क्षेत्रमा सफलता आर्जन हुनेछ । धन आर्जनका दृष्टिले राम्रै समय छ । पिताको स्वास्थ्यमा समस्या आउन सक्छ ।दैनिक खर्चमा वृद्धि हुन सक्छ। 

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )
यो महिना सुर्यको गोचर तपाईंको राशिबाट अष्टम भावमा हुनेछ । दुर्घटना हुने सम्भावना भएकाले सवारी चलाउँदा, हिड्दा विचार पुर्याउनुपर्छ । काममा विघ्नबाधा वा ढिलासुस्ती हुन सक्छ भने कुनै परीक्षा, प्रतियोगिता वा अन्तर्वार्ताको तैयारी गर्दै हुनुहुन्छ भने अझ बढी मिहिनेत गर्ने समय हो । व्यक्तिगत र पारिवारिक स्वास्थ्यप्रति पनि सचेत हुनु आवश्यक छ । व्यक्तिगत मानसम्मान र प्रतिष्ठा गिराउन शत्रुहरू सक्रिय हुनेछन । शत्रुहरुले तपाईंका क्रियाकलापमा बाधा उत्पन्न गर्न सक्छन्। त्यस्तै व्यापारमा पनि घाटा हुनसक्छ । यस अवधिमा बोलीमा सचेतता अपनाउनु र विवादबाट जोगिने प्रयास गर्नु उत्तम हुनेछ । स्वास्थ्यस्थितिप्रति समेत सचेत भएर खानपान र आहारविहारको अनुशासन पालना गर्नु उत्तम हुनेछ । खर्च बढ्न सक्ने भएकाले खर्चमा नियन्त्रण गर्नुपर्छ। 

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
यो महिना सुर्यको गोचर तपाईंको राशिबाट सप्तम भावमा हुनेछ । सप्तम भाव साझेदारी र दाम्पत्यजीवनसँग सम्बन्धित घर हो । यो महिना तपाईको बोलीमा विशेष प्रभाव हुने र व्यवहारमा कुशलता देखिने समय हो । तपाईंको जीवनसाथीले पनि आफ्नो कार्यक्षेत्रमा उन्नति गर्ने समय छ । प्रेम जीवन सामान्य हुनेछ । धार्मिक क्रियाकलापमा झुकाव बढ्ने छ । व्यापारमा संलग्नहरूका लागि राम्रो कारोबार हुने महिना छ । समग्रतामा व्यापार र कार्यक्षेत्रमा उल्लेखनीय काम गर्ने महिना छ । यो समयमा कार्यक्षेत्रमा व्यवसायिक साझेदारसँग मतभेद बढ्न सक्छ। त्यस्तै यो मानसिक तनाव र खिन्नता बढ्ने समय भएकाले सानातिना कुरामा चिन्ता र शङ्का गर्नहुदैन । निरङ्कुश बानी र कडापन पनि तपाईंका कमजोरी बन्नसक्छन। विद्यार्थीले उचित मेहनत गर्दा सफलता प्राप्त गर्न सक्छन्। 

आइतबार​ ६ कात्तिक २०७९ ०९:०४ PM मा प्रकाशित

प्रतिक्रिया