×

श्रीलङ्काको राष्ट्रपतिमा वामपन्थी नेता दिसानायके निर्वाचित

images

काठमाडौं । श्रीलङ्काको राष्ट्रपतिमा वामपन्थी नेता अनुरा कुमारा दिसानायके निर्वाचित भएका छन् ।  दोस्रो चरणको मतगणनापछि उनी हिजो बेलुका राष्ट्रपतिमा निर्वाचित भएको हो ।

पहिलो चरणको मतगणनामा पहिलो स्थानमा आएका दिसानायके र दोस्रो स्थानमा रहेका प्रेमदासाबाहेक अन्य उम्मेदवारहरू चुनावी दौडबाट बाहिरिएका थिए । चुनावी प्रतिस्पर्धाबाट बाहिरिएका उम्मेदवारलाई मत दिएका मतदाताले दोस्रो र तेस्रो प्राथमिकतामा राखेका उम्मेदवारको मत गनेर विजेता निर्धारण गरिएको हो ।

श्रीलङ्काको राष्ट्रपतीय चुनाव पहिलोपटक दोस्रो चरणको मतगणनामा पुगेको थियो । श्रीलङ्कामा राष्ट्रपति निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ । पहिलो चरणको मतगणनामा कसैले पनि ५० प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको मतगणना भएको थियो  ।चुनावमा मतदाताले प्राथमिकताका आधारमा पहिलो, दोस्रो र तेस्रो उम्मेदवार चयन गर्न पाउने व्यवस्था छ । पहिलो चरणको मतगणनामा वामपन्थी नेता दिसानायकेले ४२ दशमलव ३१ प्रतिशत मत प्राप्त गरेका थिए ।

दोस्रो स्थानमा रहेका प्रेमदासाले ३२ दशमलव ७६ प्रतिशत मत पाएको थियो । चुनावमा ३८ जना उम्मेदवार थिए । श्रीलङ्कामा १ करोड ७० लाख मतदाता छन्  । यस वर्षको चुनावलाई इतिहासकै सबैभन्दा प्रतिस्पर्धात्मक चुनावका रूपमा व्याख्या गरिएको छ ।

निर्वाचन आयोगले यो इतिहासकै सबैभन्दा शान्तिपूर्ण चुनाव भएको पनि बताएको छ । श्रीलङ्कामा इतिहासकै खराब आर्थिक सङ्कटपछि २०२२ मा देशव्यापी विरोध प्रदर्शन शुरू भएको थियो । जसका कारण देश छाडेर भागेका राष्ट्रपति गोटाबाया राजापाक्षले सिंगापुर पुगेर पदबाट राजीनामा दिएको थियो । त्यसपछि पहिलो पटक अस्ति शनिवार चुनाव भएको हो ।

सोमबार ७ असोज २०८१ ०७:३९ AM मा प्रकाशित

प्रतिक्रिया