×

प्रतिपक्षी दलको अडान पुनर्लेखन , सत्तापक्ष सच्याउन तयार छैन

images

काठमाडौं । सरकारले संसदमा पेस गरेको आगामी नीति तथा कार्यक्रम ‘पुनर्लेखन’ गर्नुपर्ने अडानमा प्रतिपक्षी दल उभिए पनि सत्तारूढ दलका नेताले सच्याउनसम्म तयार छैनन् ।

प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आइतबारको छलफलमा सरकारको नीति तथा कार्यक्रम अहिलेको समस्या समाधान गर्ने किसिमको नभएको बताउँदै पुनर्लेखन गर्नुपर्ने बताएका थिए ।

सोमबारको छलफलमा प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पनि सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पुनर्लेखन गर्न जरुरी रहेको बताएका छन् । उनले सत्तापक्षको बहुमत भएकाले सो नीति तथा कार्यक्रम पास गर्न सकिने तर त्यसले सिंगो देश नै बिग्रने जिकिर गरे । देश नै बिग्रने भएकाले सो नीति तथा कार्यक्रम थप छलफल गरेर आउनुपर्ने अध्यक्ष लिङ्देनले बताए ।

अध्यक्ष लिङ्देनले जुनयुद्ध नीति तथा कार्यक्रममा लेखियो भनेर आत्मरतिमा नरम्न पनि सरकारलाई सचेत गराए । देशको जीवनमा परक पार्ने, जनताको जीवनमा फरक पार्ने के त्यस्तो कार्यक्रम आयो भन्दै उनले सरकारलाई प्रश्न गरेका छन् । एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नीति तथा कार्यक्रम फिर्ता लिएर पुनर्लेखन नगरे ‘रिङ आउट’ गर्ने चेतावनी समेत दिए ।

प्रतिपक्षी दलले नीति तथा कार्यक्रम फिर्ता लिएर पुनर्लेखनको माग गर्दै गर्दा सत्तारूढ दलका नेताले त्यसलाई सच्याउनसम्म तयार देखिएका छैनन् । सत्तापक्ष सांसदले भने प्रस्तुत नीति तथा कार्यक्रममा केही सुधारको आवश्यक भए पनि प्रतिपक्षी दलका नेताले भने जस्तो पुर्नलेखनको आवश्यकता नरहेको बताएका छन् । राजधानी दैनिकबाट

मङ्गलबार ९ जेठ २०८० ०८:५८ AM मा प्रकाशित

प्रतिक्रिया