×

नेपालमा उत्पादित सवारी साधन दर्ता गर्ने कानुन बनाउन प्रधानमन्त्री प्रचण्डको निर्देशन

images

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा बनेका सवारी साधन दर्ता प्रक्रियाका लागि आवश्यक कानुनी प्रबन्ध मिलाउन मुख्य सचिव शंकरदास बैरागीलाई निर्देशन दिएका छन् ।

आइतबार बिहान प्रधानमन्त्री प्रचण्डले मुख्यसचिव बैरागीलाई कानुनको मस्यौदा छिट्टै अगाडि बढाउन तथा प्रोत्साहनको नीति ल्याउन निर्देशन दिएका हुन् । ‘यात्री’सहितका नेपाली उत्पादन दर्ता नभएकोमा आफूले गम्भीर रुपमा लिएको पनि उनले बताएका छन्। 

‘‘यात्री’ लगायत नेपालमा उत्पादित सवारी साधन दर्ता नभएको भन्ने गुनासोलाई गम्भीरतापूर्वक लिएको छु,’ प्रधानमन्त्री दाहालले भनेका छन्, ‘सवारी साधन दर्ता एवं स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्नेगरी तत्काल कानुनी प्रबन्धको प्रक्रिया अगाडि बढाउन नेपाल सरकारका मुख्यसचिवमार्फत् सम्बन्धित निकायलाई निर्देशित गरेको छु।’

‘यात्री’ लगायतका नेपालमै उत्पादित सवारी साधनले दर्ता भई काम गर्न नपाएका समाचार सार्वजनिक भएका थिए । तीन वर्षदेखि नेपाली सडकमा गुडिरहेको यात्री मोटरसाइकल दर्ता नहुँदा यसका उत्पादकहरु विदेशिन बाध्य भएको समाचार आएका बेला प्रधानमन्त्रीको यस्तो निर्देशन आएको हो।

आइतबार​ १० बैशाख २०८० ०१:२३ PM मा प्रकाशित

प्रतिक्रिया