×

‘ग्रे लिस्ट’ मा परेसँगै विदेशी फण्ड र लगानी आउँदैन, अब मध्यावधिमा गएर देशलाई निकास दिनुपर्छः अर्थविद् न्यौपाने 

images

काठमाडौं । फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को प्लेनरी तथा वर्किङ ग्रूपले नेपाललाई सम्पत्तिशुद्धीकरण तथा आतङ्कवादी लगानीको जोखिमपूर्ण सूची (ग्रे लिस्ट) मा राखेको छ । ‘एफएटीएफ’ को ग्रे लिस्टमा पर्दा मुलुकमा आर्थिक, राजनीतिक, वित्तीय र कुटनीतिक क्षेत्रमा नकारात्मक असर पर्ने जानाकारहरु बताउँछन् । योसँगै नेपाल दोस्रो पटक ग्रे लिस्टमा परेको हो । यसै सन्दर्भमा रिपोर्टर्स क्लब नेपालले विज्ञहरुसँग साक्षत्कार कार्यक्रम गरेको छ । 

अर्थविद् प्रा.डा.गोपीलाल न्यौपानेले नेपालले इजी मनी खोजेर पटक–पटक गल्ती गरेको टिप्पणी गरे । उनले नेपालको फाइनान्सियल इकोनमिक पोलिसी नै इजी मनी खोज्ने प्रवृत्तिको रहेको बताए । नेपालका ३० खर्बभन्दा बढी कर उठ्नुपर्नेमा अहिले लगभग १० खर्बमात्रै उठिरहेको कारण एफएटीएफले शंका गरेको उनले बताए । त्यस्तै डा. न्यौपानेले नेताहरुको सम्पत्ति दिनानुदिन बढ्दै जाँदा त्यसको स्रोत दिन नसकिएको कारण नेपाल ग्रे लिस्टमा पर्ने बाटोमा गएको बताए । 

रातारात धनी भएका मानिसहरुले कतै हमासलगायतका आतङ्ककारी समूहलाई फन्डिङ त गरेका छैनन् भनेर एफएटीएफले आशंका गरिरहेको पनि उनले बताए । यति धेरै कर उठ्नुपर्ने देशमा नेपालको पैसा कहाँ गयो भन्ने प्रसंगमा नेपाल ग्रे लिस्टमा परेको उनको दाबी छ । 
‘जनता नाङ्गै छन्, भोकै छन् । रोजगारी छैन, उचार गर्न सक्दैनन् । पैसा कहाँ गयो ? नेपाल आतङ्ककारीहरुलाई फन्डिङ गर्ने सोर्स कन्ट्री त होईन ? भनेर ऊ अनुसन्धान गर्न लाग्यो । नेपालको आयोजनाहरु किन पूरा भएनन् ? पाँच वर्षका लागि भनेको आयोजना किन ३० वर्षसम्म पूरा भएन ? त्यसको उत्तर पनि एफएटीएफले पाएन,’– उनले भने । 

साथै, खर्चको पारदर्शिता, दण्ड सजाय, अप्राकृतिक किसिमले सम्पत्ति आर्जनलगायतका गतिविधिले नेपाल ग्रे लिस्टमा परेको उनको दाबी छ । अब विदेशी फण्ड र लगानीहरु नेपालमा नआउने उनले बताए । यसका लागि अब एमाले, कांग्रेस र माओवादीले सत्ता छोड्नुपर्ने उनको माग छ । उनले मध्यावधि निर्वाचनमा गएर नयाँ जनमतको सरकार बनाउनु पर्ने उनले बताए । ‘अब तुरुन्तै मध्यावधि निर्वाचनमा जाऔं । फ्रेस म्याण्डेट लिउँ । नत्र भने कांग्रेस, एमाले र माओवादीको बुताबाट यो देश अगाडि बढ्न सक्ने स्थिति मैले देखेको छैन,’– उनले भने । 
 

आइतबार​ ११ फागुन २०८१ ०९:२७ AM मा प्रकाशित

प्रतिक्रिया