×

पाकिस्तानमा २ करोड ६० लाख बालबालिका विद्यालय बाहिर

images

पाकिस्तान हाल विद्यालय बाहिरका बालबालिकाको सङ्कटसँग जुझिरहेको छ ।  विद्यालय बाहिरका बालबालिकाहरूको सङ्यामा  २ करोड २० लाखबाट २ करोड २६ लाख पुगेको द न्यूज इन्टरनेसनलले पाकिस्तान इन्स्टिच्युट अफ एजुकेशनको नयाँ  प्रतिवेदनलाई उद्धृत गर्दै उल्लेख गरेको छ ।  

पीआईईको पाकिस्तान शिक्षा तथ्याङ्क प्रतिवेदन सन् २०२१–२२ ले विद्यालय बाहिरका बालबालिकाहरूको सङ्ख्याको बारेमा आश्चर्यजनक खुलासा गरेको छ । सन् २०२१–२२  सम्म पाकिस्तानमा २ करोड ६० लाख  बालबालिका विद्यालय बाहिर रहेका छन् । 

द न्युज इन्टरनेसनलका अनुसार विद्यालय जाने उमेर समूहका ३९ प्रतिशत बालबालिका हाल विद्यालय बाहिर छन् ।  जसले विश्वव्यापी शिक्षा सुनिश्चित गर्नमा निरन्तर चुनौती रहेको सङ्केत गर्दछ ।
बलुचिस्तानमा सबैभन्दा बढी ६५ प्रतिशत बालबालिका विद्यालय बाहिर छन् ।  इस्लामाबाद राजधानी क्षेत्रले भने सबैभन्दा कम प्रतिशत समेटेको छ । प्रमुख प्रान्तहरूको तुलनामा खैबर पख्तुनख्वामा ३० प्रतिशत बालबालिका विद्यालय बाहिर रहेका छन् । 

सन् २०१६–१७ मा ४४ प्रतिशतबाट घटेर सन् २०२१–२२ मा ३९ प्रतिशतमा झरेको भए तापनि सोही अवधिमा यो २ करोड ६० लाख पुगेको छ । यो वृद्धि मुख्यतया जनसङ्ख्या वृद्धिदरले विद्यालय बाहिरका बालबालिकामा आएको कमीलाई पछाडि पारेको कारण हो ।

प्रतिवेदनले उच्च माध्यमिक तहमा सन्  २०२१–२२ मा ६० प्रतिशत बालबालिका विद्यालय बाहिर रहेको  पुष्टि गरेको छ । द न्युज इन्टरनेसनलले  प्रतिवेदनको थप विश्लेषण गर्दाल उच्च, मध्य र प्राथमिक तहमा क्रमशः ४४ प्रतिशत, ३० प्रतिशत र ३६ प्रतिशत विद्यालय बाहिरको दर देखाएको छ । प्रतिवेदन अनुसार विद्यालय बाहिरका बच्चाहरूको ठूलो हिस्सा, १ करोड ७७ लाख प्राथमिक  तहमा छ । 

मङ्गलबार ९ माघ २०८० ०८:५८ AM मा प्रकाशित

प्रतिक्रिया