×

भिस्तारा एयरमा भेटिएन बम

images

काठमाडौँ — 'भिस्तारा' को जहाजमा बम रहेको नभेटिएको नागरिक उड्ड्यन प्राधिकरणले जनाएको छ । मंगबालर दिउँसो ४ :३० बजे काठमाडौंमा अवतरण भएको भिस्तारामा बम रहेको धम्कीपछि नेपाली सेनाको बम डिस्पोजल टोलीले जाँच गर्दा बम नभेटिएको हो ।

नागरिक उड्ड्यन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भूलले भने, 'साढे ४ बजेदेखि सुरु भएको जहाज जाँच ७ बजे सकिएको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले जाँच गर्दा जहाजमा कुनै पनि बम भेटिएन ।' सहप्रवक्ता भूलका अनुसार यस्तो खालको बमको धम्कीलाई 'होक्स कल' भनिन्छ ।

'भिस्तारा'को जहाज अब यात्रु लिएर काठमाडौंबाट दिल्लीका उड्ने तयारी रहेको समेत सहप्रवक्ता भूलले बताए । भारतीय नम्बरबाट भिस्ताराको ग्राउन्डमा सेक्युरिटी जाँच गर्ने कर्मचारीलाई भिस्ताराको दिल्ली-काठमाडौंको फ्लाइट नम्बर १५५ जहाजमा बम छ भन्ने सूचना आएको थियो।

उक्त सूचना दिल्लीबाट उडिसकेको एक घण्टापछि ह्वाट्स एपमा आएको थियो। ‘मेसेज गरेको रहेछ। सत्य हो कि होइन भनेर चेक गरिरहेका छन्। साढे ४ बजे अवतरण गराएपछि सुरक्षा मापदण्डअनुसार हामीले काम अघि बढायौं,’ उनले भने।

उनका अनुसार सूचना आएपछि यात्रुहरूलाई सामान त्यही जहाजमा छाड्न लगाएर यात्रुहरूको सुरक्षित अवतरण गराइएको थियो।  बमको खबरपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित टर्मिनल कार्यालयमा प्राप्त भएपछि भिस्ताराको एयरबस ए३२० विमानलाई पार्किङ्गवेबाट अलग्गै राखेर सुरक्षा जाँच गरिएको थियो ।

जहाज अवतरण भएलगत्तै बम राखिएको खबर भिस्ताराको काठमाडौंस्थित कार्यालयमा कार्यरत भारतीय कर्मचारी सुमन शर्मालाई आएको थियो । स्रोतका अनुसार, शर्माले जहाज अवतरण भएलगत्तै दौडेर टर्मिनल कार्यालयलाई अज्ञात नम्बरबाट आफ्नो जहाजमा बम राखिएको फोन आएको जानकारी दिएका थिए ।

मङ्गलबार ६ कात्तिक २०८१ ०७:३६ PM मा प्रकाशित

प्रतिक्रिया