काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीको कारण आइतबारसम्म बीमा कम्पनीहरूमा २२ अर्ब २५ करोड रूपैयाँको दाबी परेको बीमा प्राधिकरणले जानकारी दिएको छ ।
सबैभन्दा धेरै बीमा दाबी द ओरियण्टल इन्सुरेन्समा कम्पनीमा पाँच अर्ब २२ करोडको दाबी परेको छ । त्यस्तै, सिद्धार्थ प्रिमियर इन्सुरेन्समा ५ अर्ब ८ करोडको दाबी परेको छ भने सबै भन्दा कम ट्रष्ट माइक्रो इन्सुरेन्समा सबैभन्दा कम ४१ करोड ५० लाखको दाबी परेको प्राधिकरणले जानकारी दिएको छ ।
बीमा कम्पनीहरूले हरेक दिन आएको दाबीको विवरण दिए अनुसार प्राधिकरणले जानकारी दिएको छ । भदौ २३ र २४ गते प्रदर्शनको क्रममा सार्वजनिक सम्पत्तिदेखि विभिन्न व्यवसायिक भवन, होटल, घरमा तोडफोड र आगजनी भएका छन् । प्राधिकरणले बीमाको दाबि गर्न अपिल समेत गरेको छ ।
नेपालमा धेरै अघिदेखि सार्वजनिक सम्पत्तिहरूको बीमा गर्नुपर्छ भन्ने कुरा गरिएको भएपनि सरकारी उदासिनताको कारण यी सम्पत्तिहरूको बीमा हुन सकेको छैन । प्रदर्शनमा यस्ता सार्वजनिक सम्पत्तिहरूको क्षति नै सबैभन्दा धेरै भएको छ । त्यसैले यस्तो क्षतिको दाबी भने बीमा कम्पनीहरूमा पर्दैन । प्रदर्शनमा भएको क्षतिलाई हुलदंगाबाट भएको क्षतिको रूपमा मानिने व्यवस्था बीमा सम्बन्धी नियमले गरेको छ । यसै अनुसार बीमा प्राधिकरणले धनमाल लगायतका सम्पत्ति बीमा, घर बीमा, र इन्जिनियरिङ बीमा गर्दा हुलदंगाबाट भएको क्षतिलाई पनि समेट्न पर्ने व्यवस्था गरेको छ ।
मोटर बीमामा भने दुई किसिमका बीमा गर्ने गरिएको छ, पहिलो तेस्रो पक्ष बीमा र दोस्रो सम्पूर्ण सवारी बीमा । तेस्रो पक्ष बीमा भनेको हुलदंगालाई नसमेट्ने र सवारी दुर्घटनाको क्रममा घाइते वा मुत्यु हुनेको परिवारले पाउने बीमा हो । त्यस्तै सवारी साधनको सम्पूर्ण बीमा भनेको सवारी साधनमा क्षति पुग्दा हुने बीमा हो । यस्तो बीमामा हुलदंगाबाट भएको क्षतिलाई समेत समेटिएको हुन्छ । यसले गर्दा यो प्रदर्शनको क्रममा जलाइएका सवारी साधनले सम्पूर्ण सवारी बीमा गरेका छन् भने त्यसको बीमा दाबि पाउने छन् ।
प्राधिकरणका अनुसार आइतबारसम्म सम्पत्ति बीमाका ५३८, मोटर बीमाका १७७८, इन्जिनिरिंग तथा ठेकेदार जोखिमका १३२, परिवहन बीमाका ११ र अन्य बीमाका १९ दाबिसहित २२ अर्ब २५ करोड ६५ लाख ६ हजार बराबरको बीमा दाबि गरिएको छ ।
प्रतिक्रिया