×

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

images

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीको कारण आइतबारसम्म बीमा कम्पनीहरूमा २२ अर्ब २५ करोड रूपैयाँको दाबी परेको बीमा प्राधिकरणले जानकारी दिएको छ । सबैभन्दा धेरै बीमा दाबी द ओरियण्टल इन्सुरेन्समा कम्पनीमा पाँच अर्ब २२ करोडको दाबी परेको छ । त्यस्तै, सिद्धार्थ प्रिमियर इन्सुरेन्समा ५ अर्ब ८ करोडको दाबी परेको छ भने सबै भन्दा कम ट्रष्ट माइक्रो इन्सुरेन्समा सबैभन्दा कम ४१ करोड ५० लाखको दाबी परेको प्राधिकरणले जानकारी दिएको छ ।  बीमा कम्पनीहरूले हरेक दिन आएको दाबीको विवरण दिए अनुसार प्राधिकरणले जानकारी दिएको छ ।  भदौ २३ र २४ गते प्रदर्शनको क्रममा सार्वजनिक सम्पत्तिदेखि विभिन्न व्यवसायिक भवन, होटल, घरमा तोडफोड र आगजनी भएका छन् । प्राधिकरणले बीमाको दाबि गर्न अपिल समेत गरेको छ । प्राधिकरणका अनुसार आइतबारसम्म सम्पत्ति बीमाका ५३८, मोटर बीमाका १७७८, इन्जिनिरिंग तथा ठेकेदार जोखिमका १३२, परिवहन बीमाका ११ र अन्य बीमाका १९ दाबिसहित २२ अर्ब २५ करोड ६५ लाख ६ हजार बराबरको बीमा दाबि गरिएको छ ।

२- काठमाडौँ महानगरपालिकाले यस बर्ष २० हजारभन्दा बढीलाई छात्रवृति दिएको छ ।  महानगरका प्रमुख बालेन शाहले एउटा कानुन कार्यान्वयनले यो बर्ष २० हजार भन्दा धेरै विद्यार्थीले छात्रवृति पाएको जानकारी दिएका छन् । बालेनले कार्यान्वयनको पहिलो वर्ष १३ हजार, दोश्रो वर्ष १९ हजार र यो बर्ष १ देखि १० सम्म १६ हजार ९८० र ११ मा ३ हजार ३०२ गरि जम्मा २० हजार २८२ ले करिब २ अर्ब २५ करोड बराबरको छात्रवृति पाएको जानकारी दिएका हुन् । बालेनले यस शैक्षिक सत्र २०८२ मा हाल सम्म विवरण बुझाउने विद्यालयको संख्या ४४० पुगेको जानकारी दिदै १६ हजार ९८० जनाले छात्रवृति पाएको बताएका छन् ।केहि बिद्यालयले हाल सम्म विवरण नबुझाएको र उनीहरुलाई यथाशिघ्र विवरण बुझाउन अनुरोध गरेका छन् ।  विवरण पेस नगर्ने बिद्यालयहरु बन्द विद्यालयको रुपमा बुझी काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्ने गरी कारबाही गरिने बताएका छन् ।  साथै उनले प्राप्त भएको विवरणको पनि नुगमन गर्ने र फरक पाइएमा कानुन बमोजिम कारबाही हुने स्पष्ट गरेका छन् । कानुन निर्माणको महत्व कार्यान्वयनबाट मात्र पुष्टि हुने बताउदै बालेनले कानुन निर्माण र कार्यान्वयन दुवै पक्षमा उत्तिकै गम्भीर रहेको प्रतिबद्धता व्यक्त गरेका छन् । साथै उनले कक्षा ११ को छात्रवृति केन्द्रिकृत प्रणाली बाट र कक्षा १-१० को लागि ऐन को दफा ५० को उपदफा (३) अनुसार गठित छात्रवृत्ति छनोट समितिको निर्णयबाट बिद्यालय व्यवस्थापन समितिले वितरण गरे अनुसार प्राप्त भएको विवरण रहेको भन्दै सबै विवरण कानुनअनुसार वेबसाइटमा सार्वजनिक गरेको जानकारी दिएका छन् ।

३- मुग्लिन नारायणगढ सडक खण्ड दुई तर्फी संचालनमा आएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार सोमबार साँझ साढे ५ बजेदेखि सडक दुईतर्फी संचालनमा आएको हो । आज दिउसो ३ बजेसम्म सवारी बन्द गरेर पहिरो हटाउने काम गरिएको भएपनि ढुंगा खस्ने क्रम जारी रहेकाले सडक खुलाउन समय लागेको थियो । कार्यालयले सवारीसाधनहरू आफ्नो लेन अनुशासनमा रहेर सवारीसाधन चलाउन अनुरोध गरेको छ ।

४- उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गर्न खुला रहेको बताएका छन् । उत्तर कोरियाको सरकारी समाचार एजेन्सी, केसीएनएका अनुसार किमले यसका लागि शर्त अगाडी सारेका छन् ।  किमले उत्तर कोरियालाई आफ्नो आणविक हतियार त्याग्न जोड नदिएमा ट्रम्पसँग वार्ता गर्न तयार गरेको बताएका छन् । किमले प्रतिबन्ध हटाउने बदलामा आफ्नो आणविक हतियार कहिल्यै नत्याग्ने पनि स्पष्ट गरेका छन् । किमले आइतबार सर्वोच्च जनसभालाई सम्बोधन गर्दै व्यक्तिगत रूपमा, ट्रम्पसँग अझै पनि राम्रा सम्झनाहरू रहेको बताएका थिए । अर्कोतर्फ, बीबीसीसँग कुरा गर्दै, दक्षिण कोरियाली राष्ट्रपतिले यदि अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किम आणविक हतियार उत्पादन हटाउनुको सट्टा रोक्न सहमत भए भने पनि त्यो स्वीकार गर्न तयार रहेको प्रत्क्रिया दिएका छन्।

५- दक्षिण अफ्रिकाका विस्फोटक ब्याट्सम्यान क्विन्टन डी ककले एकदिवसीय क्रिकेटबाट आफ्नो सन्यास फिर्ता लिएका छन् । अक्टोबरमा हुने पाकिस्तान भ्रमणका साथै त्यसअघि नामिबियामा हुने एकल टी-२० र एकदिवसीय टिममा समावेश गरिएको छ । डि ककले २०२३ को एकदिवसीय विश्वकप पछि ५० ओभरको क्रिकेटबाट सन्यास लिएका थिए र दक्षिण अफ्रिकाका लागि उनको अन्तिम सेतो बल खेल बार्बाडोसमा २०२४ को टी-२० विश्वकप फाइनल खेलेका थिए । उनले आधिकारिक रूपमा टी-२० बाट कहिल्यै सन्यास लिएका भने थिएनन्, तर उनलाई दक्षिण अफ्रिकाको कुनै पनि टोलीमा समावेश गरिएको थिएन । यसैबीच, उनी हालै सम्पन्न सीपीएल सहित विश्वभरका टी-२० लिगहरू खेलिरहेका छन् । वर्तमान मुख्य प्रशिक्षक शुक्री कोनराडसँगको छलफलमा डिककले फेरि राष्ट्रिय टोलीबाट खेल्ने प्रतिबद्धता व्यक्त गरेपछि उनलाई टिममा समावेश गरिएको बताइएको छ ।

६- शिक्षामन्त्री महावीर पुनले आफु शिक्षा मन्त्रालयमै बस्ने बताएका छन् । केशरमहलस्थित मन्त्रालयमा कार्यभार ग्रहण गर्दै उनले आफु मन्त्रालयमै बस्ने बताए । उनले भने- सचिवज्यूलाई निर्देशन दिन्छु । एउटा कोठा बनाउनुस, एउटा बेड, एउटा टेबल एउटा कुर्सि । म जहाँ काम गर्छु त्यहि बस्ने बानी छ मेरो । राष्ट्रिय आविष्कार केन्द्रमा काम गर्दा म त्यहि बस्छु । वीरगन्ज जादा त्यहि बस्ने हो । मलाइ एउटा किचन चाहियो, म आफै पकाएर खान्छु ।' मन्त्री पुनले मन्त्रालयको काममा गाडी प्रयोग गर्ने बताउदै अन्य निजी काममा गाडी प्रयोग नगर्ने बताए ।

७- नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदभार ग्रहण गरेका छन् । उनले सिंहदरबारस्थित मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्नेक्रममा मन्त्री खरेलले पाँच महिना भित्र दशका प्रमुख १० शहरका सार्बजनिक स्थानमा नि: शुल्क वाईफाई इन्टरनेट सेवा प्रदान गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् । मन्त्री खरेलले यसअघि मन्त्रलायका कर्मचारीले तयार गरेको निर्णय परिवर्तन गर्न लगाएर यो निर्णय गरेका हुन् ।

८- अर्थमन्त्री रामेश्वर खनालले अर्थ मन्त्रालय अन्तर्गतका कार्यालयमा काम गर्दा कर्मचारीले घुस मागेमा आफुलाई सिधै जानकारी गराउन इमेल ठेगाना र टोलफ्री नम्बर सार्बजनिक गरेका छन् । अर्थमन्त्री खनालले अर्थ मन्त्रालय अन्तर्गतका नियामक निकाय, विभाग, कार्यालय र बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाह हुने सेवामा कर्मचारीले गर्नु पर्ने कार्य नगरेको, नगर्नुपर्ने कार्य गरेको वा अनुचित कार्यको लागि दबाब दिएको एवं घुस तथा रिसवत माग गरेको लगायतका कुनै पनि प्रकारको अनावश्यक ढिलासुस्ती वा सेवा प्रवाहमा कठिनाई सिर्जना भएमा इमेल वा टोलफ्री नम्बरमा जानकारी गराउन आग्रह गरेका हुन् । सम्पर्क गर्ने ईमेल ठेगाना  [email protected] र  [email protected] र हटलाइन (टोलफ्री) नम्वर १८१०५०००४१० मा सिधै गुनासो गर्न सकिने जानकारी दिइएको छ । यसका लागि मन्त्रालयले सम्पर्क व्यक्ति पनि तोकेको छ ।  जसमा उपसचिव निरन भट्टराई (९८५१४०५२६५) र शाखा अधिकृत, पवित्रा ज्ञवाली (९८५१४०५२७५) रहेका छन् ।

९-  नवनियुक्त चार मन्त्रीहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त चार मन्त्रीलाई पद तथा गोपनियताको शपथ गराएका हुन् । मन्त्री बन्नेमा पत्रकार जगदीश खरेल सञ्चार तथा सुचना प्रविधि, पूर्वन्यायाधीश अनिल कुमार सिन्हा उद्योग, कानुन र भुमि व्यवस्था मन्त्री, महावीर पुन शिक्षा तथा विज्ञान प्रविधि र डा. मदन प्रसाद परियार कृषि मन्त्री रहेका छन् । यसअघि रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङलाई उर्जा, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालय तथा ओमप्रकाश अर्याललाई गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

१०- फिलिपिन्समा आएको आँधीका कारण हजारौं मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ । स्थानीय अधिकारीहरूले आँधी विनाशकारी हुन सक्ने बताएका छन् । आँधीलाई 'रागासा' नाम दिइएको छ । यो प्रतिघण्टा २३० किलोमिटरको गतिमा फिलिपिन्सतर्फ अघि बढिरहेको छ । आँधी रागासा सोमबार उत्तरी टापुहरूमा पुग्ने अनुमान गरिएको छ । त्यसपछि यो दक्षिण चीनतर्फ पश्चिम सर्नेछ । फिलिपिन्सको मौसम विज्ञान विभागले आँधीका कारण तीन मिटर (१० फिट) अग्ला छालहरू आउने अनुमान गरेको छ । राजधानी मनिला लगायत देशका धेरै क्षेत्रहरूमा विद्यालय र सरकारी कार्यालयहरू बन्द गरिएका छन् । अधिकारीहरूले बाढी र पहिरोको चेतावनी जारी गरेका छन् र घर र भवनहरूमा व्यापक क्षति हुने डर व्यक्त गरेका छन् । आँधी रागासा फिलिपिन्सको बाबुयान टापुमा ठोक्किनेछ, जहाँ लगभग २० हजार मानिसहरू बसोबास गर्छन् । यो आँधी ताइवानमा प्रत्यक्ष रूपमा ठोक्किने सम्भावना छैन, तर ताइवानको पूर्वी भागमा भारी वर्षा हुने अनुमान गरिएको छ ।

११- अर्थमन्त्री रामेश्वर खनालसँग नेपालका लागि अमेरिकी राजदुत डिन थम्पसनले भेटवार्ता गरेका छन् । उक्त अवसरमा अर्थमन्त्री खनाल र अमेरिकी राजदुत थमसनबीच नेपालको हालको परिवर्तित अवस्था र संयुक्त राज्य अमेरिकाले यस परिस्थितिमा नेपाललाई गर्न सक्ने सहयोगका विषयमा छलफल भयो । छलफलमा अर्थमन्त्री खनालले विशिष्ट परिस्थतिमा गठन भएको वर्तमान सरकारको मुख्य कार्य तोकिएको समयमा निर्वाचन सम्पन्न गर्ने, पुनर्निर्माण योजना र सहुलियत प्याकेजको माध्यमवाट निजी क्षेत्रको मनोवल माथि उठाउनु रहेको बताए । अमेरिकी राजदुतले हालैको घटनामा ज्यान गुमाउने परिवार प्रति समवेदना तथा सहानुभुति व्यक्त गर्दै यस परिस्थितिमा अमेरिकी सरकार नेपालको साथमा रहेको उल्लेख गरे । साथै, अमेरिकी राजदुत थमसनले एमसीसीको सहयोगमा संचालित एमसीए नेपालबाट कार्यान्वयन भइरहेका परियोजनाहरु समयमै सम्पन्न गर्ने कार्यमा सरकारको थप प्रतिवद्धता आवश्यक रहेको बताए । अर्थमन्त्री खनालले उक्त परियोजनाहरुको सफल कार्यान्वयनका लागि सरकारको तर्फवाट गर्नुपर्ने कार्यहरूमा ढिलाई नहुने विश्वास दिलाए । सो अवसरमा अर्थमन्त्री खनालले नेपालको सामाजिक आर्थिक विकासमा अमेरिकी सरकारको तर्फवाट हुँदै आइरहेको निरन्तर सहयोगको उच्च सराहना गरे र भविष्यमा समेत यस प्रकारको सहयोग प्राप्त भइरहने आशा समेत व्यक्त गरे ।

१२-  हलिउड स्टार टम हल्याण्ड, जसलाई विश्वभर स्पाइडर म्यानको नामले चिनिन्छ, हालै आफ्नो नयाँ प्रोजेक्ट 'स्पाइडर-म्यान: ब्रान्ड न्यू डे' को छायांकन गर्ने क्रममा चोट लागेको छ । दुर्घटनाले फिल्मको छायांकन रोक्न बाध्य पारेको मात्र होइन, उनका फ्यानहरूका लागि पनि ठूलो चिन्ताको विषय बनेको छ । यद्यपि, उनको चोट गम्भीर नभएको र डाक्टरहरूले उनलाई आराम गर्न सल्लाह दिएको बताइएको छ । ग्लासगोमा छायांकन गर्दा टम हल्याण्डलाई सामान्य चोट लागेको थियो । प्रारम्भिक परीक्षणहरूले हल्का कन्कसन, टाउकोमा चोट लागेको पत्ता लगाएको छ । डाक्टरहरूले उनलाई केही दिन आराम गर्न सल्लाह दिएका छन् । फिल्म युनिटले सुरक्षालाई प्राथमिकता दिँदै छायांकन पनि रोकेको छ । निर्माताहरूले अवरोध लामो समयसम्म नहुने र अभिनेता केही दिनभित्रै सेटमा फर्कने बताएका छन् । फिल्म निर्माण पक्षले यो चोटले निर्माण तालिकामा उल्लेखनीय असर नपार्ने बताएको छ । त्यसैले, फिल्मको जुलाई २४, २०२६ को निर्धारित रिलिज मिति परिवर्तन गरिने छैन । युनिटले टम हल्याण्डको स्वास्थ्य पूर्ण रूपमा स्थिर रहेको र उनी चाँडै क्यामेरामा फर्कने कुरा पनि स्पष्ट पारेको छ ।

१३- काठमाडौंको वसन्तपुरस्थित हनुमान ढोकाको दशैं घरमा विधिवत रुपमा जमरा राखिएको छ । सोमबार बिहान ९: १३ बजेको शुभ साइतमै जमरा राखिएको हो । सोमबारदेखि नवरात्र सुरु भएको छ । नवरात्रको पहिलो दिन घरघरमा जमरा राख्ने गरिन्छ । सोहीअनुसार हनुमान ढोकाको दशैँघरमा पनि सोमबार शुभसाइतमै जमरा राखिएको हो ।  जबरा राख्दा नेपाली सेनाको ब्याण्ड बाजा टोलीले मंगल धुन बजाएका थिए । साथै  बन्दुक पड्काएर बढाई पनि गरिएको छ । नवरात्रीभर महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रको प्रथम दिवसमा शैलपुत्री, दोस्रो दिन व्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धीदात्रीको पूजाअर्चना गरिन्छ ।

१४- नेपाली बजारमा आज सुनको मुल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुन तोलाको ७ सयले बढेर तोलाको २ लाख १७ हजार ८ सयमा कारोबार भइरहेको छ । यो सुनको अहिलेसम्मको उच्च मुल्य हो । यस अघि आइतबार सुन तोलाको २ लाख १७ हजार १ सयमा कारोबार भएको थियो ।  यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३० रुपैयाँले बढेर २६५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको २६२० मा कारोबार भएको थियो ।

१५- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ । मंगलबार बिहान ८ बजेदेखि पार्टीको केन्द्रीय कार्यालय, वनस्थलीमा बस्ने गरी बैठक बोलाएको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । बैठकमा समसामयिक राजनीतिक अवस्था, आगामी २१ फागुनमा हुने निर्वाचन रणनीति र पार्टीको ऐतिहासिक महाधिवेशनका विषयमा छलफल हुने झाले जानकारी दिएका छन् । बैठकमा समसामयिक अवस्थाबारे छलफल, प्रदेश सभापतिहरूबाट प्राप्त विवरण प्रस्तुति, परिवर्तित अवस्थामा केन्द्रीय सदस्यहरूको धारणा, पार्टी संगठन र विभागसँग सम्बन्धित विषय, आगामी प्रतिनिधिसभा निर्वाचनको रणनीति, पार्टीको महाधिवेशन र विविध विषयमा चर्चा हुने जानकारी गराएका छन् ।

१६- क्यानडा, अष्ट्रेलिया र संयुक्त अधिराज्य पछि, पोर्चुगलले पनि स्वतन्त्र प्यालेस्टाइन राज्यलाई आधिकारिक मान्यता दिने घोषणा गरेको छ । आइतबार, पोर्चुगलका विदेशमन्त्री पाउलो रङ्गेलले घोषणा गरेका थिए । उनले पोर्चुगलले अब आधिकारिक रूपमा प्यालेस्टाइन राज्यलाई मान्यता दिएको छ । वार्षिक संयुक्त राष्ट्र महासभा अघि न्यूयोर्कमा पत्रकारहरूसँग कुरा गर्दै, रङ्गेलले प्यालेस्टाइन राज्यलाई मान्यता दिनुले आधारभूत, सुसंगत र व्यापक रूपमा सहमत नीति पूरा गर्दछ । उनले पोर्चुगलले दुई-राज्य समाधानलाई न्यायपूर्ण र दिगो शान्तिको एक मात्र बाटो मान्ने र इजरायल र प्यालेस्टाइन बीच सहअस्तित्व र शान्तिपूर्ण सम्बन्धलाई प्रवर्द्धन गर्ने बताए । यसअघि, संयुक्त राज्य अमेरिका र इजरायलको विरोधको बाबजुद, बेलायतले औपचारिक रूपमा प्यालेस्टाइन राज्यलाई मान्यता दिएर ऐतिहासिक कदम चालेको थियो । क्यानडा र अष्ट्रेलियाले पनि प्यालेस्टाइनलाई मान्यता दिने घोषणा गरिसकेका छन् । बेलायती प्रधानमन्त्री केयर स्टारमरले आइतबार सामाजिक सञ्जालमा लेखेका छन्- 'आज, प्यालेस्टिनी र इजरायलीहरूका लागि शान्ति र दुई-राज्य समाधानको आशा पुनर्जीवित गर्न, बेलायतले औपचारिक रूपमा प्यालेस्टाइन राज्यलाई मान्यता दिएको छ ।' यससँगै, बेलायत प्यालेस्टाइनलाई राज्यको रूपमा मान्यता दिने १४० देशहरूमा सामेल भएको छ ।

१७- अमेरिका र चीनबीच टिकटक संचालन बारे सम्झौता भएको बताइएको छ । ह्वाइट हाउसले टिकटक सम्झौताको बारेमा विज्ञप्ति जारी गर्दै अपडेट दिएको छ । सम्झौतामा अमेरिकी कम्पनीको टिकटकको एल्गोरिदममा पूर्ण नियन्त्रण रहने  भनिएको छ । यसबाहेक, यसको गभर्निङ बोर्डमा अमेरिकाको बहुमत रहने पनि भनिएको छ । ह्वाइट हाउसका प्रेस सचिवले ओरेकलले डेटा र सुरक्षाको जिम्मेवारी लिने बताएका छन् । यसबाहेक, अमेरिकामा टिकटक व्यवस्थापन गर्न नयाँ बोर्ड गठन हुने रिपोर्ट गरिएको छ, जसमा सात मध्ये छ सिट अमेरिकी नागरिकले राख्ने बताइएको छ । अमेरिका र चीन बीचको सम्झौताको बारेमा लामो समयदेखि छलफल चलिरहेको छ । कांग्रेसले पहिले नै टिकटकमाथि प्रतिबन्ध लगाउने कानून पारित गरिसकेको छ, जुन जनवरीमा लागू हुने तय गरिएको थियो । यसको बावजुद, डोनाल्ड ट्रम्पले टिकटकलाई अस्थायी राहत दिने धेरै आदेशहरू जारी गरिसकेका छन् । टिकटकको मूल कम्पनी, बाइटेन्सलाई यसको अमेरिकी व्यवसाय बेच्न मनाउन प्रयासहरू जारी छन् । हालैको विज्ञप्तिमा, प्रेस सचिवले भने- 'हामी विश्वस्त छौं कि सम्झौता सम्पन्न भएको छ । यसमा हस्ताक्षर गर्न मात्र बाँकी छ। राष्ट्रपतिको टोलीले यसलाई अन्तिम रूप दिन चिनियाँ अधिकारीहरूसँग काम गरिरहेको छ ।' रिपोर्टका अनुसार, शुक्रबार डोनाल्ड ट्रम्पले राष्ट्रपति सी जिनपिङसँग लामो फोन वार्ता गरेका थिए । यसपछि ट्रम्पले अमेरिकी लगानीकर्ताहरू टिकटक सम्झौताको लागि तयार रहेको र सी जिनपिङले राम्रो सहयोग गरिरहेको बताए । यद्यपि, चीनले एल्गोरिथ्ममाथि नियन्त्रण सम्बन्धी सर्तहरू स्वीकार गरिएको छ कि छैन भनेर स्पष्ट पारेको छैन । अमेरिकी सांसद र अधिकारीहरूले चिनियाँ सरकारको डेटा पहुँच र प्रचारको लागि टिकटकको प्रयोगको बारेमा चिन्ता व्यक्त गरेका छन् । विज्ञहरू विश्वास गर्छन्, हालैका घटनाक्रमहरूलाई ध्यानमा राख्दै, सम्झौता आगामी ३०-४५ दिन भित्र अन्तिम रूप पाउने सम्भावना छ । रिपोर्टका अनुसार, नयाँ सम्झौता पछि, टिकटकको ८० प्रतिशत व्यवसाय नयाँ लगानीकर्ताहरूको स्वामित्वमा हुनेछ । यो सम्झौता अमेरिकी प्रयोगकर्ताहरूको डेटा चिनियाँ सरकारको पहुँचबाट टाढा राख्नको लागि गरिएको हो । ह्वाइट हाउस यस विषयमा सम्झौता चाँडै पूरा हुने बताइएको छ ।

१८- बार्सिलोनाले स्पेनिस ला लिगा अन्तर्गतको खेलमा गेटाफेलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले गेटाफेलाई ३-० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा फेरान टोरेजले २ गोल गरेका थिए भने डानी ओल्मोले एक गोल गरेका थिए । यस सिजनमा बार्सिलोनाको यो चौथो जित हो । ५ खेलमा ४ जित र एक बराबरी खेलेको बार्सिलोनाको १३ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । त्यसैगरी गेटाफेको यो यस सिजनमा दोस्रो हार हो । ५ खेलमा ३ जित र २ हार बेहोरेको गेटाफे ९ अंकसहित आठौ स्थानमा रहेको छ ।

१९- भारतले जारी एशिया कपको सुपर फोर अन्तर्गतको खेलमा पाकिस्तानलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो । पाकिस्तानले दिएको १७२ रनको लक्ष्य दिएको पछाएको भारतले १८.५ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । भारतको जितमा अभिषेक शर्माले सर्बाधिक ७४ रन बनाएका थिए भने शुभमन गिलले ४७ रन बनाएका थिए । त्यस्तै तिलक बर्माले ३० र सन्जु सामसनले १३ रन बनाएका थिए । त्यसैगरी पाकिस्तानका बलर हरिस राउफले २ विकेट लिए भने अब्रार आयुब र फाहीम अशरफले एक एक विकेट लिएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको पाकिस्तानले २० ओभरमा ५ विकेट गुमाउदै १७१ रन बनाएको थियो । पाकिस्तानका लागि शाहीबजादा फरहानले ५८ तथा सैम आयुब र मोहमद नवाजले २१-२१ रन बनाएका थिए । यो जितपछि भारतको सुपर फोरमा २ अंक भएको छ । अब एशिया कपको सुपर फोरमा मंगलबार पाकिस्तान र श्रीलंका खेल्ने तालिका रहेको छ  ।

२०-  नेपालले जारी साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा भारतको सामना गर्ने भएको छ । सोमबार सम्पन्न समुह बी को खेलमा भारतले पाकिस्तानलाई ३-२ गोल अन्तरले पराजित गरेसँगै सेमिफाइनलको समीकरण पुरा भएको हो । जस अनुसार अब समुह ए मा विजेता बनेको बंगलादेशले सेमिफाइनलमा पाकिस्तानको सामना गर्ने छ भने समुह ए मा उपविजेता बनेको नेपालले सेमिफाइनलमा भारतको सामना गर्ने भएको छ । सेमिफाइनलका खेलहरु विहिबार हुने छन् भने फाइनल खेल शनिबार हुने छ ।

 

सोमबार ६ असोज २०८२ ०८:११ PM मा प्रकाशित

प्रतिक्रिया