×

बिरुडा भिजाएर सुरु गरियो गौरा पर्वको मौलिक विधि

images

काठमाडौँ, ५ भदौ : यस वर्षको गौरा पर्व मनाउनका लागि केराउ, जौ, मस्याङ, मास र गुराँस गरी पाँच चीजको गेडा भिजाएर राखिएको छ । यसरी पाँच चीज मिलाएर भिजाउनुलाई बिरुडा भिजाएको भनिन्छ । 

अष्टमीमा भगवतीलाई पूजा गरेर प्रसादका रुपमा यसरी भिजाएको पाँच प्रकारको चीज अर्थात् बिरुडा चढाइन्छ । भक्तजनलाई पनि प्रसादका रुपमा बिरुडा नै बाँडिन्छ । पाँच किसिमका गेडागुडी भिजाउने दिनलाई बिरुडा पञ्चमीका नामले चिन्ने गरिएको छ । 

यसवर्ष चान्द्रमासअनुसार भाद्र महिना लाग्नुअघि नै अगस्त्य ऋषिको उदय हुने भएकाले श्रावण शुक्ल अष्टमीकै दिन अर्थात् भदौ ७ गते नै यो पर्व मनाउनुपर्ने निर्णय नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले गरेको छ । 

समितिले स्वीकृति दिएका पात्रोमा पनि यही लेखिएको छ । समितिको स्वीकृति नलिइ प्रकाशन गरिएका केही पात्रोले भने भदौ २२ गते गौरा पर्व भनी उल्लेख गरेकाले त्यसकापछि नलाग्न आह्वान गरिएको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो । 

यसैले श्रावण शुक्ल पञ्चमी अर्थात् नागपञ्चमीकै दिनमा बिरुडा भिजाएर सोमबार गौरा पर्वको सुरुवात् भएको हो । गौरा पूजा गर्नका लागि पाँच वनस्पति कुश, काँस, सामा (सौँ), तीतेपाती र अपामार्ग कतै तिलको बिरुवा पनि राखेर देवीको आकार बनाउने गरिन्छ ।


यसरी बनाइएको देवीलाई यसवर्ष श्रावण शुक्ल अष्टमीका दिन गाउँको सफा घरमा भित्र््याएर व्रतालुले निराहार बसी पूजा गर्ने परम्परा रहेको देउडा संस्कृतिविद् नन्दकृष्ण जोशीले बताउनुभयो । देवीलाई गाउँका नायकले भित्र्याउनुपर्ने चलन छ । यसरी भित्र्याउँदा कसैले पनि हेर्न नहुने मान्यता छ । गौरा भित्र्याउने घरमा जम्मा भएका गाउँलेले खोज्दा नभेट्ने गरी नायकले लैजान्छन् । यसलाई गौरा पर्वको मौलिकताका रुपमा लिने गरिएको छ ।

    दुई तीन दिन पूजा गरिसकेपछि मङ्गल र शनिबार नपारी देवीलाई नदी, कुवा, पोखरी वा जलाशयमा लगी सेलाइन्छ । जुठो, सुतक परेका बेला देवीलाई विसर्जन गर्नु नहुने परम्परा छ । देवीलाई विसर्जन गरेपछि माङ्गल अर्थात् माङ्गलिक कर्ममा गाइने भजन, गीत गाएर रमाइलो गर्ने परम्परा छ । देशका अन्य भागमा तीज मनाए जस्तै पश्चिममा यो पर्व विशेषगरी नारीहरुले मनाउने गरेका छन् । उमा महेश्वरसहित दुबोको पूजा गरेर सुदूरपश्चिम र मध्यपश्चिमवासीले यस वर्ष उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन् । 

यसवर्ष चान्द्रमास अनुसार भाद्र महिनाअगावै अगस्त्य ऋषिको उदय हुने भएकाले श्रावण शुक्ल अष्टमीकै दिन मनाउनुपर्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् एवं समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ । 

शुक्ल पक्षमा मनाइने गौरालाई उज्याली र कृष्ण पक्षमा मनाइने गौरालाई अँध्यारी भन्ने गरिन्छ । यसैले यसवर्षको गौरालाई उज्याली भनिन्छ । पहिलो पटक व्रत बस्नेले भने शुक्लपक्षको अष्टमी अर्थात् उज्याली गौराबाटै सुरु गर्नुपर्ने व्रत विधान छ ।

   कन्या राशिमा सूर्य गएपछि अर्थात् असोज महिना लागेपछि भने गौरा पर्व मनाउनुहुँदैन । सिंह राशिमा सूर्य भएका बेला अर्थात् भदौ महिनामा गौरा मनाउनुपर्ने मानसखण्ड, निर्णयसिन्धु, हेमाद्रिलगायत धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको छ । गौरालाई सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रका मानिसले ऐतिहासिक मौलिक पर्वका रुपमा मनाउने गरेका छन् । 

    राजधानीमा पनि सुदूरपश्चिम र  मध्यपश्चिम क्षेत्रका मानिसको बसोबास बढेसँगै यो पर्व धुमधामका साथ मनाउन थालिएको छ । सत्य युगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी वर्षा ऋतुको भाद्र महिनामा जल, जङ्गल, जमिन र जनावरको डर नमानी तपस्या गरेपछि मनोकामना पूरा भएको सम्झनामा देशको पश्चिम क्षेत्रमा यो पर्व मनाउन सुरु गरिएको देउडा संस्कृतिविद् गायक जोशीले जानकारी दिनुभयो ।

     पञ्चमीका दिन बिरुडा भिजाएर सुरु गरिएको गौरा पर्व चार दिनसम्म धुमधामका साथ मनाइन्छ । राजधानीमा पनि गौरासँगै देउडा गायन र नृत्यका साथ सुदूरपश्चिम एवं मध्यपश्चिम नेपालवासीले यो पर्व मनाउने गरेका हुन् । 
---

मङ्गलबार ५ भदौ २०८० ०२:१९ PM मा प्रकाशित

प्रतिक्रिया