×

पूर्व बैंकर अनिल केशरी शाह रास्वपामा प्रवेश , बने प्रशिक्षण विभाग प्रमुख

images

काठमाडौं ।  पूर्व बैंकर अनिलकेशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामा प्रवेश गरेका छन् । पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा शाह रास्वपा प्रवेश गरेका हुन् ।  वैकल्पिक राजनीतिको पक्षमा लामो समयदेखि बहस गर्दै आएका उनी अन्ततः रास्वपाको पहिलो बार्षिकोत्सवको दिन नै पारेर पार्टी प्रवेश गरेका हुन् । 

रास्वपाले चर्चित अनुहारहरुलाई पार्टीमा भित्र्याउने अभियानकै रुपमा चलाउँदै आएको छ । जसअनुसार रास्वपाले चुनावअघि स्वर्णिम वाग्लेलाई पार्टीमा भित्र्याएको थियो । रास्वपाकै टिकटबाट स्वर्णिम सांसद समेत उपनिर्वाचनबाट निर्वाचित भएका थिए ।

उनलाई पार्टी सभापति रवि लामिछानेले स्वागत गरेका छन् । रास्वपाको लोगो लगाइसकेपछि पत्रकारहरुलाई सम्बोधनका क्रममा उनले नेपालीमा नेतृत्व विकासका लागि सीप प्रयोग गर्न आफू प्रवेश गरेको बताए। 

‘बैंकिङ करिअर छाडेपछि मैले नेतृत्व विकासको तालिम दिइरहेको थिएँ’, उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीसँग मेरो लामो बहस भयो। बहसपछि मलाई लाग्यो, उहाँहरुको सोच र मेरो सोच ठ्याक्कै मिल्यो।’ उनलाई रास्वपाले प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिएको केन्द्रीय सदस्य गणेश कार्कीले जानकारी दिए ।

रास्वपाको आज बसेको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकमा पार्टी सभापति लामिछानेले शाहलाई पार्टीको लोगो लगाइदिँदै पार्टीमा स्वागत गरे । रास्वपाले आज पहिलो स्थापना दिवस मनाउँदैछ। अघिल्लो असार ७ गते स्थापना भएको पार्टी अहिले २१ सिटसहित संसदको चौथो दल बनेको छ।

सभापति लामिछानेले ‘होइन, छैन र सकिँदैन’ मात्र नभइ ‘हो, छ र सकिन्छ’ भन्दै अघि बढ्नुपर्ने बताए। 

‘आलोचना त कालिकोटमा अस्पताल बनाउँदा पनि हुन्थ्यो, कोभिडमा अक्सिजन खोज्दा पनि हुन्थ्यो। अल्मलिने हजार बहाना हुँदा, अघि बढ्ने लाख बाटो भेटिन्छन्। के छान्ने आफ्नो हातमा हुन्छ। रास्वपा एक वर्षको हुँदा हिजोको जग खडा गर्नु हुने सिधा कुरा टिमका साथीहरूलाई सम्झन चाहन्छु’ उनले भनेका छन्।

उनले आज साँझ ७ बजे, ७ प्रदेश, ७७ जिल्लामा ७७ पटकक घण्टी बजाएर ऐक्यबद्धता जनाउन भनेका छन्।

बिहीबार ७ असार २०८० ०१:०४ PM मा प्रकाशित

प्रतिक्रिया