×

नक्कली शरणार्थी प्रकरण- ३२ जनालाई मुद्दा चलाउन रायसहित प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन

images

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले झण्डै दुई महिना लामो अनुसन्धानपछि आज प्रतिवेदन बुझाएको हो ।

प्रहरीले ३२ जनालाई प्रतिवादी बनाएर अभियोग पत्र दायर गर्न राय दिएको छ । त्यसमा १६ जना पक्राउ परिसकेका छन् भने १६ जना फरार छन् । जिल्ला सरकारी वकिल कार्यालयले बुधबारसम्म जिल्ला अदालतमा अभियोग पत्र दायर गरिसक्नुपर्नेछ ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौं असुली गर्ने प्रयासमा कम्तिमा ३२ जना संलग्न रहेको निष्कर्ष निकालेको र रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको काठमाडौं प्रहरी परिसरका एक अधिकृतले बताए ।

केहीलाई ठगी र संगठित अपराधसहित केहीलाई लिखतसम्बन्धी कसुर (कीर्ते)मा मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको स्रोतले बतायो । केहीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट पनि मुद्दा चलाउन सिफारिस गरिएको छ । प्रहरीले यस घटनामा मुख्य योजनाकार केशव दुलाल र सानु भण्डारीलाई बनाएको छ। 

अहिलेसम्म प्रहरी हिरासतमा नेकपा (एमाले) का सांसद टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप, पूर्वगृहमन्त्री बालकृष्ण खाण उनका सहयोगी नरेन्द्र केसी, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षाविज्ञ इन्द्रजित राई, पूर्वगृहसचिव टेकनारायण पाण्डे र नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा छन्।

यस्तै केशव दुलाल, सानु भण्डारी र टंक गुरूङ, सागर राई, सन्देश शर्मा, रामशरण केसी, गोविन्द चौधरी, हज समितिका अध्यक्ष शमशेर मियाँ र शरणार्थी नेता टेकनाथ रिजाललाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूविरूद्ध १२५ जनाले जाहेरी दिएका छन्। प्रहरीले २७ करोड रुपैयाँ बराबरको रकम ठगी भएको बताएको छ। 

 पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक र इन्द्रजित राईका छोरा निरज लगायत भने फरार छन् ।

 

सोमबार ८ जेठ २०८० ०१:५८ PM मा प्रकाशित

प्रतिक्रिया