×

असी करोडको गोदावरी सभाहलमा एकपछि अर्को समस्या

images

काठमाडौं । असी करोड रूपैयाँ खर्चेर ललितपुरको गोदावरीमा निर्माण गरिएको तीन हजार क्षमताको सभाहलमा निर्माण सम्पन्न भएको एक वर्ष नबित्दै एकपछि अर्को समस्या देखापरेका छन्। महालेखा परीक्षकको कार्यालयको ६० औं वार्षिक प्रतिवेदनले सभाहल निर्माणमा अधिकांश त्रुटि तथा कमजोरी देखिएको औंल्याएको छ।

महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनले सभाहल निर्माण सकिएको एक वर्ष नबित्दै विभिन्न ठाउँमा छानोबाट पानी चुहिएको, फल्स सिलिङ भत्किएको, ठूला काठका ढोका पूरा नखुल्ने अवस्था आएको देखाएको छ। केसीरसमानान्तर जेभीले निर्माण गरेको सभाहलमा अहिले धेरै खालका समस्या देखिएको छ।

असी करोड रूपैयाँ खर्चेर ललितपुरको गोदावरीमा निर्माण गरिएको तीन हजार क्षमताको सभाहलमा निर्माण सम्पन्न नभएको एक वर्ष नबित्दै एकपछि अर्को समस्या देखापरेका छन्।

‘छानोको ट्रसको बेस प्लेट र एंकरबोल्ट भएको ठाउँमा डिजाइन गर्दा सियर लगको डिजाइन गरिएकोमा सो सियरलग निर्माण भएको छैन।’ महलेखापरीक्षक कार्यालयको प्रतिवेदनमा भनिएको छ, ‘निर्माणसँग सम्बन्धित त्रुटि सुधार गरी सभाहल सञ्चालनको सुनिश्चितता गर्नुपर्दछ।’

सभाहलको भवनमा क्यान्टिन, सुरक्षागार्ड तथा मर्मतसम्भार र सरसफाइ गर्ने कर्मचारीको लागि बस्ने स्थान निर्माण नगरिएको, मञ्च अपाङ्गमैत्री नभएको र पछाडिको कोरिडोर होचो र साँघुरो भएको, मुख्यद्वारमा पोर्चको निर्माण नगरिएको कारण सेवाग्राहीलाई हल प्रवेशमा असहज हुने जस्ता समस्या देखिँदै आइरहेको छ।

ललितपुरको गोदावरीमा ३ हजार सिट क्षमताको सभाहल निर्माण गर्ने जिम्मेवारी केसीरसमानान्तर जेभीले पाएको थियो। तत्कालीन भवन तथा सहरी विभागसँग २०७६ कात्तिक २० गते ठेक्का सम्झौता भएको थियो।

ठेक्का सम्झौता अनुसार ६५ करोड ८१ लाख ६५ हजार रूपैयाँमा निर्माण सम्पन्न गर्नुपर्ने थियो। सो सभाहलको भेरिएसन आदेशपछि ८२ करोड १४ लाख ३० हजार (संशोधित लागत) कायम भएको थियो। यो सभाहलको निर्माण २०७७ चैत ३० गते ८० करोड २७ लाख १६ हजारमा सम्पन्न भएको हो। नागरिक दैनिकबाट

शनिबार ९ बैशाख २०८० ०६:४७ AM मा प्रकाशित

प्रतिक्रिया