काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक उच्च अंकले बढेको छ । पछिल्ला दुई कारोबार दिनदेखि निरन्तर उकालो लागिरहेको नेप्से आइतबार ५४.५१ अंकले बढेर २९३१.५५ विन्दुमा पुगेको छ, जुन करिब सात महिनायता उच्च स्तर हो।
आज सेन्सेटिभ इण्डेक्स ११.११ अंक, फ्लोट इण्डेक्स ४.०६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.८२ अंकले वृद्धि भएको छ। बजारमा ३६४ स्टकको २ लाख ४ हजार ९५५ पटकको कारोबारमा २३ अर्ब ५९ करोड ७७ लाख १२ हजार रुपैयाँबराबरको ६ करोड १४ लाख ७ हजार कित्ता शेयर किनबेच भएको छ, जुन करिब सात महिनायता सबैभन्दा बढी कारोबार रकम हो।
कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, रिलायन्स स्पिनिङ्ग मिल्स, अभियान लघुवित्त, सोलु हाइड्रोपावर, भुजुङ्ग हाइड्रोपावर र होटल फरेष्ट इनको शेयर सकारात्मक सर्किट लेभलमा पुगेको छ। विजय लघुवित्तको शेयरमूल्य करिब १० प्रतिशत र एनआईसी एशिया लघुवित्तको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ।
कारोबार रकमका आधारमा कुमारी बैंक शीर्ष स्थानमा रहँदै ८५ करोड ९६ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। नेशनल हाइड्रोपावर र शिवम् सिमेन्ट्सका शेयर क्रमशः ७८ लाख र ७५ करोड रुपैयाँ नाघेका छन्। १३ उपसमूहमध्ये १२ को परिसूचक बढेको छ भने १ को परिसूचक घटेको छ।
लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ४.२१ प्रतिशत बढेको छ भने होटल तथा पर्यटन उपसमूह ३ प्रतिशतभन्दा बढी बढेको छ। बैंकिङ्ग, विकास बैंक, वित्त, जीवन बीमा र निर्जीव बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ, जबकि व्यापार उपसमूहको परिसूचक सामान्य रूपमा घटेको छ।
प्रतिक्रिया