×

स्थानीय तहको निर्वाचनमा जुटे दलहरू

images

स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा मधेस प्रदेशका जिल्लामा राजनीतिक दलहरूले निर्वाचन केन्द्रित गतिविधिलाई तीव्रता दिएका छन् । अधिकांश स्थानीय तहको चुनावी परिणाम आफ्नो पक्षमा पार्ने उद्देश्यका साथ नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीलगायत दलका नेता कार्यकर्ता यतिबेला चुनाव केन्द्रित कार्यक्रम लिएर गाउँ–गाउँ पुग्न थालेका हुन् ।

सरकारले २०७९ वैशाख ३० गते स्थानीय तह निर्वाचनको मिति घोषणा गरेको छ । सरकारको घोषणासँगै निर्धारित मितिमै चुनाव सम्पन्न गर्ने तयारीमा रहेको निर्वाचन आयोगले आगामी वैशाख ११ र १२ गते उम्मेदवारी मनोनयनपत्र दर्तालगायत कार्यतालिका प्रकाशन गरिसकेको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा मुख्य राजनीतिक दलको ध्यान उम्मेदवार छनोटदेखि मतदाता रिझाउनमा केन्द्रित बनेको छ । उम्मेदवारको आकाङ्क्षीदेखि विभिन्न राजनीतिक दलका नेताहरू पुग्न थालेपछि सहरदेखि ग्रामीण क्षेत्रमा समेत चुनावी माहोल बन्दै गएको स्थानीयवासी बताउँछन् ।

अघिल्लो स्थानीय तह चुनावमा देखिएको कमी–कमजोरीलाई सच्याएर चुनावी परिणाम कसरी आफ्नो पक्षमा पार्न सकिन्छ भन्ने रणनीतिका साथ चुनाव केन्द्रित कार्यक्रम सञ्चालन गरिरहेको कांग्रेस मधेस प्रदेशका सभापति कृष्णकुमार यादवले जानकारी दिनुभयो । प्रदेशभरिका सबै स्थानीय तहको वडावडामा टोल समिति गठन गर्नुका साथै पालिकास्तरीय, प्रदेशसभास्तरीय र सङ्घीय निर्वाचन क्षेत्रस्तरीय भेला सम्पन्न गरिसकेको सभापति यादवले बताउनुभयो ।

“स्थानीय तह निर्वाचन लक्षित कार्यक्रम गरिरहेका छौँ”, प्रदेश सभापति यादवले भन्नुभयो, “स्थानीय तह निर्वाचनमा नगरपालिका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा वडाध्यक्षका आकाङ्क्षीको छनोट सम्बन्धमा समेत बहस र छलफल भइरहेको छ ।” आगामी स्थानीय तह निर्वाचनमा पार्टीलाई कसरी पहिलो बनाउने विषयमा नेता कार्यकर्ताबीच नियमित छलफल भइरहेको उहाँको भनाइ थियो ।

पार्टी विभाजनपश्चात मधेस प्रदेशमा खस्किएको आफ्नो साखलाई आगामी स्थानीय तह निर्वाचनमार्फत फर्काउने उद्देश्यका साथ एमालेले पनि मधेस प्रदेशका आठवटै जिल्लाका स्थानीय तहमा चुनावलक्षित कार्यक्रमलाई अगाडि बढाएको छ । एमाले नेता तथा मधेस प्रदेश सहइञ्चार्ज लीलानाथ श्रेष्ठले स्थानीय तहका टोल समिति गठनसँगै वडा वडामा टोल भेला तथा प्रशिक्षण दिने कार्यक्रम भइरहेको जानकारी दिनुभयो । 

स्थानीय तहका प्रत्येक वडामा पाँचदेखि १५ वटासम्म टोल कमिटी गठन गरिएको र भातृ संस्थाको  भेला, प्रशिक्षण र कमिटी गठनको कार्य जारी रहेको उहाँले जानकारी दिनुभयो । “केही साताअघि मात्रै पार्टीको प्रदेशस्तरीय प्रशिक्षण सकिएको छ”, श्रेष्ठले भन्नुभयो, “अब स्थानीय तह केन्द्रित भेला, प्रशिक्षण र अन्तक्र्रिया गरिरहेका छौँ ।” त्यो सकिएपछि उम्मेदवार छनोटको कार्य अघि बढाउने गरी तयारीमा जुटेको उहाँको कथन छ ।

त्यस्तै माओवादी केन्द्रले पार्टीको नगर तथा गाउँपालिकामा जनवर्गीय सङ्गठन गठनलाई तीव्रता दिनुका साथै नेता कार्यकर्तालाई गाउँगाउँमा खटाएको छ । विभिन्न जिल्लामा पार्टीभित्र देखिएको विवादलाई हल गर्दै पार्टीलाई जिताउने गरी तयारीमा जुट्न गाउँ–गाउँमा नेता, कार्यकर्तालाई परिचालन गरिएको नेकपा (माओवादी केन्द्र)का मधेस प्रदेश अध्यक्ष प्रह्लाद बुढाथोकीले बताउनुभयो ।

चुनावी तयारीस्वरुप माओवादी केन्द्रले आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा पार्टीको मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमसमेत गर्न लागेको छ । 

त्यसैगरी अघिल्लो स्थानीय तहको निर्वाचनमा मधेस प्रदेशमा बलियो पकड बनाएको जनता समाजवादी पार्टीले पनि आनो पुरानो साखलाई कायम राख्दै अझै थप केही स्थानीय तहमा जित निकाल्ने गरी तयारीमा जुटेको छ । स्थानीय तहको निर्वाचनलाई लक्षित गरी टोल कमिटी गठन गर्ने, प्रशिक्षण अभियान सञ्चालन गर्नेलगायत कार्य अगाडि बढाएको जसपा मधेस प्रदेशका सचिव दिनेशकुमार यादवले जानकारी दिनुभयो । 

“गाउँ–गाउँमा पार्टी प्रवेश कार्यक्रमदेखि भेला, अन्तक्र्रिया र प्रशिक्षणलगायतका कार्यक्रम गरिरहेका छौँ”, सचिव यादवले भन्नुभयो, “अहिले हाम्रो पार्टीमा आउनेहरुको सङख्या बढ्दै गएको छ, त्यसैले हामी पार्टी प्रवेश कार्यक्रमसँगै चुनाव केन्द्रित कार्यक्रमलाई अघि बढाइरहेका छौँ ।” अघिल्लो निर्वाचनमा भन्दा यसपालिको निर्वाचनमा आफ्नो पार्टीले बढी स्थानीय तह जित्ने दाबीसमेत उहाँले गर्नुभयो ।

पार्टी विभाजनबाट बनेको नेकपा (एकीकृत समाजवादी)ले पनि चुनावी गतिविधि अघि बढाएको छ । पार्टीका प्रदेश सचिव सुधीरकुमार साहका अनुसार एकीकृत समाजवादीले पनि अहिले प्रदेशका अधिकांश स्थानीय तहमा सङ्गठन विस्तार र भेला गरिरहेको छ । 

मुलुक बिखण्डनको मुद्दा छाडेर मूलधारको राजनीतिमा फर्किएको डा सिके राउत नेतृत्वको जनमत पार्टीले पनि मधेस प्रदेशमा स्थानीय तह निर्वाचनलक्षित कार्यक्रम सुरु गरेको छ । जनमत पार्टीले सप्तरीबाट माटो यात्रामार्फत चुनावी अभियान सुरु गरेको छ । जनमत माटो यात्रामा सहभागी गाडीमा ‘अबकी बार, सीके सरकार’ नारासमेत देखिएको छ । 

यसैबीच स्थानीय तहको निर्वाचनलाई लक्षित गरी म्यादी प्रहरी भर्नाको लागि सूचना जारी भएपछि मधेस प्रदेशका जिल्लामा आवेदन भर्ने मधेसी युवाको भीड बढेको छ । म्यादी प्रहरी भर्नाका लागि आवेदन दर्ता गराउन जिल्ला प्रहरी कार्यालय धनुषामा दैनिकरूपमा ठूलो भीड लाग्ने गरेका छन् । स्थानीय तह निर्वाचनमा खटिने म्यादी प्रहरीको भर्नामा युवाको बढ्दो आकर्षणले पनि आसन्न स्थानीय तहको निर्वाचनको वातावरण बन्दै गएको बुझ्न सकिन्छ ।

यसरी राजनीतिक दलहरूले चुनावलक्षित गतिविधिलाई तीव्रता दिएपछि निर्वाचनको माहोल बन्दै गएको स्थानीय बुद्धिजीवीको भनाइ छ । कूल नौ हजार ६६१ वर्ग किलोमिटर क्षेत्रफल रहेको मधेस प्रदेशमा एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकासहित १३६ स्थानीय तहमा एक हजार २७१ वडा छन् ।   
 

मङ्गलबार ८ चैत २०७८ ११:३२ AM मा प्रकाशित

प्रतिक्रिया