×

वान एक्सबेट खेलाउने ६ जना पक्राउ, डिजिटल वालेटहरूमा करोडौं कारोबार

images

काठमाडौं । नेपालमा वानएक्स बेटमार्फत सट्टेबाजी खेलाउने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। उपत्यका प्रहरी अपराध महाशाखाले जुम्लाको चन्दननाथ नगरपालिका ६ खलङ्गाका २३ वर्षीय दिलिप सिंह कठायत, २३ वर्षकै भुपालराज न्यौपाने, १९ वर्षीय नयनराज भण्डारी, सर्लाहीको बलरा नगरपालिका ५ का २८ वर्षीय वरुणकुमार सिंह काभ्रेपलान्चोकको मादनकुडारी गाउँपालिका १ की २६ वर्षीया शिवानी तामाङ र काठमाडौं महानगरपालिका ३२ का वासुदेव पाण्डेलाई पक्राउ गरेको हो।

उनीहरुको साथबाट प्रहरीले ३४६ थान सिमकार्ड, मोबाइल, चेकबुक र एक थान ल्यापटप पनि बरामद गरेको अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा. मनोजकुमार केसीले जानकारी दिए। उनीहरुले नेपालबाट एजेन्टको भूमिका निर्वाह गरेको पाइएको छ। थप कारबाहीका लागि भक्तपुर र काठमाडौं परिसर पठाइएको छ। 

पक्राउ परेका दिलिपसिंह कठायतले विगत एक वर्षदेशि वान एक्सबिट खेलाउने गरेको पाइएको छ। भुपाल ९ महिनादेखि, नयनराज ६ महिनादेखि, बरुन ६ महिनादेखि, शिवानीले आफ्नै नाममा खाता खोलेर रोशन गुरुङलाई उक्त खाता सञ्चालन गर्न दिएको पाइएको छ। उनी ८ महिनादेखि संलग्न रहेको र वासुदेव १ महिनादेखि संलग्न रहेको खुलेको छ।

विभिन्न ३५ जना व्यक्तिको नाममा खोलिएका डिजिटल वालेटहरूमा ४१ करोड १५ लाख ८९ हजार २७६ रुपैयाँ बराबरको कारोबार भएको अनुसन्धानबाट देखिएको एसएसपी केसीले बताए। यस्तै, अन्य १५ जनाका ३४ वटा बैंक खाताबाट १२ करोड २५ लाख ३५ हजार ९११ बराबरको बेटिङ कारोबार भएको देखिन्छ।

यी बैंक खाताहरु समेत प्रहरीले रोक्का गरेको छ। पक्राउ परेका व्यक्तिहरुबाट हालसम्म ९ करोड ८ लाख १३ हजार १०८ रुपैयाँ बराबरको बेटिङ कारोबार भएको खुलेको छ। उनीहरूलाई प्रहरीले मंगलबार काठमाडौं उपत्यकाको लोकन्थली, पेप्सीकोला, बानेश्वर लगायत ठाउँबाट पक्राउ गरेको केसीले जानकारी दिए। 

बुधबार ८ चैत २०७९ ०५:०५ PM मा प्रकाशित

प्रतिक्रिया