×

कम्युनिष्टको स्कुलिङ नै अमेरिका विरोधी : महामन्त्री शर्मा

images

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कम्युनिष्टको स्कुलिङ नै अमेरिका विरोधी भएको र चीन कम्युनिष्ट मुलुक भनेर कांग्रेसलाई वैरभाव नभएको बताउनुभएको छ । उहाँले अमेरिका र चीन दुवै देशले दिएको सहयोग नेपाललाई स्वीकार्य हुने बताउनुभयो । उहाँले नेपाल गरिब मुलुक भएका कारण दुवै देशले ऋण, अनुदान जेजे दिन्छन् लिने तर अमेरिका र चीनको सैन्य रणनीतिमा कहिल्यै सामेल हुन नसक्ने विचार व्यक्त गर्नुभयो ।

आज झापाको मेचीनगर नगरपालिका–१० मा एमसीसीबारे बुझाउन आयोजित क्षेत्रीय कार्यकर्ता भेलामा उहाँले स्कूल कलेज पढ्दादेखि अमेरिकी साम्राज्यवाद मुर्दावाद भन्ने कम्युनिष्टहरु नै अहिले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विपक्षमा रहेको आरोप लगाउनुभयो । 

“चीन कम्युनिष्ट मुलुक भएका कारण उसले बिआरआइमार्फत दिएको ऋण स्वीकार्य हुने नेपालका कम्युनिष्टहरुलाई तर अमेरिकाले दिएको अनुदान स्वीकार्य भएन”, उहाँले भन्नुभयो, “किनभने अमेरिका प्रजातान्त्रिक मुलुक हो अनि कम्युनिष्टहरुले विरोध गर्दछन् ।” नेपाली कांग्रेसलाई अमेरिका प्रजातान्त्रिक मुलुक हो भनेर आदरभाव र चीन कम्युनिष्ट मुलुक हो भनेर कुनै वैरभाव नभएकोसमेत कार्यकर्तालाई बताउनुभयो । 

शर्माले नेपाली कांग्रेसले कहिल्यै राष्ट्रघात नगर्ने बताउनुभयो । उहाँले आफ्नै कार्यकर्ताले एमसीसीको बारेमा नबोल्न र बोले चुनाव जित्न नसक्ने भन्दै सुझाव दिने गरेको सुनाउनुभयो । एमसीसीको बुँदा बुँदा केलाउँदै उहाँले सडक र ट्रान्समिसन लाइन बनाउने कुरामा विवाद गर्न नहुने बताउनुभयो । उहाँले नेपालको राजनीतिमा उग्रराष्ट्रवाद बेचिने गरेको बताउँदै कार्यकर्तालाई सचेत रहन आग्रह गर्नुभयो ।

मङ्गलबार १० फागुन २०७८ ०८:४४ PM मा प्रकाशित

प्रतिक्रिया