×

ल्होछार परम्परा विश्वकै सबैभन्दा पुरानो सांस्कृतिक परम्परा हो : प्रधानमन्त्री प्रचण्ड

images

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ल्होछार परम्परा विश्वकै सबैभन्दा पुरानो सांस्कृतिक परम्परा भएको बताएका छन्। उनले २८५९ औं तामाङ ल्होसारको उपलक्ष्यमा काठमाडौं टुँडिखेलमा आयोजना गरिएको सोनाम ल्होसार समारोहलाई सम्बोधन गर्दै ल्होछार परम्परा विश्वकै सबैभन्दा पुरानो सांस्कृतिक परम्परा भएको बताएका हुन्।

उनले भने, ‘ल्होछार परम्परा विश्वकै सबैभन्दा पुरानो सांस्कृतिक परम्परा हो। मानव जातिले पशुपालन र कृषिको सुरुवात गरेदेखि नै प्रकृतिको स्वभाव र गतिको नियम पत्ता लगाउने प्रयत्न गरेको थियो। यो क्रममा चन्द्रमाको गतिको आधारमा समय गणना हुन थाल्यो। यही पद्धति अंगालेर तामाङ सभ्यताले सूर्य दक्षिणबाट उत्तरतिर फर्कने छेका अर्थात् चन्द्र पात्रोको माघ शुक्ल प्रतिपदाको दिनदेखि नयाँ वर्ष सुरू हुन्छ भन्ने मान्दछ। कृषिको थालनीसँगै विकास भएकोले यो पर्वलाई सोनाम ल्होछार पनि भन्छन्।’

यस्तै प्रधानमन्त्री प्रचण्डले यो पर्व तामाङ जातीको मात्र नभइ राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्वपनि भएको बताए। उनले भने, ‘ल्होछार पर्व केबल तामाङको मात्र पर्व होइन, यो राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्व पनि हो। नेपालमा यस्ता ऐतिहासिक एंव वैज्ञानिक महत्त्व बोकेको थुप्रै पर्व छन्। तर, विगतको सामन्ती राज्यले एउटालाई काखा र अरुलाई पाखा गर्नाले नेपालका धेरै संस्कृतिहरू लोप भएर जाँदैछन्। मानव सभ्यता मर्दैछ। अर्कातिर पाश्चात्य संस्कृतिले राष्ट्रिय संस्कृतिलाई विस्थापन गर्दैछ। यो परिप्रेक्ष्यमा राज्यले ती सबै राष्ट्रिय संस्कृतिको प्रवर्धन गर्नुपर्छ भन्ने मेरो मान्यता छ।’

‘‘नेपाल पूर्व, पश्चिम, उत्तर, दक्षिणका प्रमुख सभ्यताहरूको संगमस्थल हो। यहाँ १२५ जातजाति, १२३ भाषाभाषी र १० भन्दा बढी धर्म मान्ने समुदाय बसोबास गर्दछन्’’ प्रधानमन्त्री प्रचण्डले भने, ‘‘यहाँ बसोबास गर्ने सबै जाति जातजातिको आ-आफ्नो भिन्नभिन्न परम्परा, रीतिरिवाज र संस्कृतिहरू रहेका छन् । यी सबै संस्कृतिहरूको समग्रता र एकीकृत स्वरूप नै नेपालको राष्ट्रिय संस्कृति हो। यसरी हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक हुनु नै नेपाल र नेपालीको लागि गौरवको कुरा हो, यो हाम्रो राष्ट्रिय सम्पत्तिसमेत हो।’’

‘‘ल्हो को अर्थ साल, सम्वत्, वर्ष, उमेर र छारको अर्थ नयाँ अर्थात् ल्होछारको अर्थ नयाँ वर्ष हो। यो परम्परामा विभिन्न बाह्र वटा पशुपंछीको नामबाट १२ ल्होको नाम राखिएको हुन्छ र बाह्र वर्षको चक्र बनाइन्छ’’ उनले भने, ‘‘बाह्र ल्हो मध्ये प्रत्येक वर्ष एक–एकवटा ल्हो फेरिन्छ। ल्हा (वर्ष) सँग खाम (पाँच तत्त्व) हरू-आगो, पानी, माटो, फलाम, काठ, सँग जोडिएका हुन्छन्। यही ल्हो फेरिने दिनलाई तामाङ समुदायले ल्होछार पर्वको रुपमा मान्दै आएका छन्। तामाङहरुले मान्ने ल्होछार (नयाँ वर्ष) तामाङ मत्तजुश्री पात्रोको पहिलो महिनाको पहिलो दिन हो। 

आइतबार​ ८ माघ २०७९ ०८:३३ PM मा प्रकाशित

प्रतिक्रिया