×

घोराही सिमेन्ट इन्डस्ट्रिजका सञ्चालक जेल जान सक्ने

images

काठमाडौं। घोराही सिमेन्ट इन्डस्ट्रिजको आईपीओमा लगानीकर्ताको चलखेलको रहस्य क्रमशः खुल्दै गएको छ । नियमक निकायले सर्वसाधारण लगानीकर्तालाई झुक्याउने गरी कम्पनीका सञ्चलकको गतिविधिमाथि छानबिन गरिरहेको छ भने कसुर प्रमाणित भए जेल सजायसम्म हुने व्यवस्था छ ।

कम्पनीमाथि छानबिन हुँदै गर्दा हजारौं लगानीकर्ताको करोडौं रुपियाँ भने अड्किने भएको छ । सोमबार नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको आईपीओ प्रक्रिया रोकेसँगै धितोपत्र बोर्डले लगानीकर्ताको रकम केही समय ‘ब्लक’ हुने जनाएको छ । आईपीओमा परेको नक्कली आवेदनमाथि छानबिन गरिरहेकाले सोको टुंगो नलाग्दासम्म सर्वसाधारणको रकम ‘फ्रिज’ भएर बस्ने भएको हो ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले कम्पनीको रेटिङ, सेयर प्रत्याभूतिकर्ताको भूमिका र नक्कली आवेदनलगायतका बारेमा अध्ययन गर्न लागिएको जानकारी दिए । मंगलबार प्रतिनिधि सभाको अर्थ समितिमा भएको छलफलमा सांसदहरूले घोराही सिमेन्टको आईपीओमा भएको अनियमिताको बारेमा बोर्डले अनुसन्धान गरिरहेको उनले बताए। अध्यक्ष हमालले सर्वसाधारण लगानीकर्ताको लगानी सुरक्षाका निम्ति बोर्डले आईपीओ प्रक्रिया स्थागित गरेको जनाए।

गत जेठ ३२ गतेदेखि खुलेको आईपीओमा सर्वसाधारण लगानीकर्तालाई गुमराहमा राखेर उद्योगका लगानीकर्ताले आफ्नो अभीष्ट पूरा गर्न गरिएको प्रपञ्चको पर्दाफास भएको छ । बोर्ड स्रोतले भन्यो–‘साना लगानीकर्ताले नियमित आईपीओमा जस्तै १ हजार रुपियाँले १० कित्ता सेयरका लागि आवेदन दिएको सम्झिएर आवेदन दिँदा रकम नपुगेको होइन ।

यहाँ एउटा संगठित समूहले प्रतिआवेदन १० लाखका दरले १ करोड ४० लाख कित्ताको आवेदन दिएको छ । करोडौं रुपियाँको सेयर लगानी गर्न खोज्नेले हिसाब नगरेको मान्न सकिँदैन, यो सोझै नक्कली काम हो । यसमा कम्पनीको संलग्नता देखिए कारबाही हुन्छ ।’

उता सीडीएस एन्ड क्लियरिङ लिमिटेडले पनि सूचना जारी गर्दै धितोपत्रको सार्वजनिक निष्कासनमा झुटो आवेदन परेको उल्लेख गर्दै यसको पुष्टि भएमा कारबाही हुने जनाएको छ । नेपाल समाचारपत्र दैनिकबाट

बुधबार ६ असार २०८० ०७:४१ AM मा प्रकाशित

प्रतिक्रिया