×

सौन्दर्य प्रतियोगिताको नाममा बलात्कार आरोपी मनोज पाण्डे स्वयम्भूबाट पक्राउ

images

ब्युटी प्याजेन्टको नाममा नाबालिगमाथि बलात्कार गरेको आरोप लगेका मनोज पाण्डे पक्राउ परेका छन् । कार्यक्रम आयोजक पाण्डेलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले स्वयम्भूबाट पक्राउ गरेको प्रहरी उच्च स्रोतले बताएको छ ।


एक युवतीले सामाजिक सञ्जालमार्फत पाण्डेमाथि आफू नाबालिग छँदा बलात्कार तथा यौनशोषण गरेको आरोप लगाएकी थिइन् । पाण्डे मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक समेत हुन् । उनले सन् २०१४ मा मिस ग्लोबल इन्टरनेशनल नामक प्रतियोगिता आयोजना गरेका थिए ।

सामाजिक सञ्जाल हुँदै यो विषय राष्ट्रिय चासोको मुद्दा बनेपछि प्रहरीले कारबाही अघि बढाएको हो । प्रतियोगिता सकिएपछि ‘सक्सेस पार्टी’ का लागि भन्दै प्रतियोगीलाई बानेश्वरको एभरेष्ट होटलमा बोलाएर बलात्कार गरेको पीडितको भनाइ छ । त्यसदिन पाण्डेले तस्वीर र भिडियो खिचेर ६ महिनासम्म ब्ल्याकमेल गर्दै जबरजस्ती करणी गरेको उनले खुलाएकी छन् ।

बुधबार पीडितले सामाजिक सञ्जाल टिकटकमा २० वटा भिडियो क्लिप सार्वजनिक गर्दै आठ वर्षअघि सौन्दर्य प्रतियोगिताका आयोजकबाट भएको बलात्कारको घटनाबारे खुलासा गरेकी थिइन् । घटनाकै कारण आफू ८ वर्षसम्म गम्भीर मानसिक समस्याबाट गुज्रिएको र औषधि सेवन गर्नु परिरहेको उनले बताएकी थिइन् ।

भिडियोबारे गृह मन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको थियो । भिडियोबारे अनुसन्धान गरी आवश्यक कारबाही गर्न गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा प्रहरी प्रधान कार्यालयले पाँच सदस्यीय समितिसमेत बनाएको छ । प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुँवरको नेतृत्वको समितिमा प्रहरी उपरीक्षक कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक कोपिला चुडाल, प्रहरी नायब उपरीक्षक हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्का  रहेका छन् । समितिले शुक्रबारबाटै काम सुरु गरेको छ । 


 

शनिबार ७ जेठ २०७९ ०८:१७ PM मा प्रकाशित

प्रतिक्रिया