×

देश र जनतालाई दुख दिन र दु:खको कारण भएको छ अहिलेको गठबन्धन- अध्यक्ष केपी ओली

images

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले देशको असामान्य अवस्था लुकाउन खोजेको आरोप लगाएका छन् । सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै ओलीले यस्तो आरोप लगाएका हुन् ।

उनले नीति तथा कार्यक्रममा सरकारले देश असामान्य अवस्थामा रहेको यथार्थलाई लुकाउन खोजेको टिप्पणी गरेका हुन् । उनले भने,‘लुकाउन मात्र होइन, रोम जलिरहेछ निरो बाँसुरी बजाइरहेछ ।’

उनले नीति तथा कार्यक्रम भनेको सरकारको गन्तव्य नै मार्गचित्र भएकोले अहिले त्यस्तो नीति तथा कार्यक्रम नआएको जिकिर गरे । ओलीले थपे–‘जनआकांक्षाको सम्बोधन र सरकारको गन्तव्य नै मार्गचित्र नै नीति तथा कार्यक्रम हो। एमालेको निर्णायक पहलमा सात दलको प्रधानमन्त्रीको प्रस्तावमा नियुक्त हुनुभएको प्रधानमन्त्रीज्यू ! भलै दुई महिना नपुग्दै सरकारको मुटु प्रत्यारोपणतिर लाग्नुभयो।

मुटु प्रत्यारोपण भइसकेपछि नेतृत्व उहाँकै भएकाले नीति तथा कार्यक्रम को समर्थन गर्ने प्रयासका साथ मैले सुने र पढे। तर, नीति कार्यक्रम के उद्देश्य र गन्तव्यको लागि आएको छ ? मैले पहिल्याउने कोसिस गरे। तर, त्यस्तो छैन।’ साथै ओलीले दातृ निकायको ब्रिफिङमा देशको राजस्व संकलन गर्न कठिनाई भइरहेको भन्ने मिल्छ भन्दै प्रश्न गरेका छन् ।

‘प्रधानमन्त्रीजीले दातृ निकायको प्रमुखहरुको ब्रिफिङमा राजस्व संकलन गर्न कठिनाई भइरहेको उल्लेख गर्नु भएछ । राजस्व संकलन गर्न सरकारले अन्तर्राष्ट्रिय निकायलाई गुहार्न मिल्छ ? राजस्व उठाउने प्राथमिक कर्तव्य सरकारको होइन र ?’

ओलीले भने, ‘सरकार प्रारम्भिक कर्तव्यमै असफल भइसकेको छ । त्यहीँ असफलाको दस्तावेजको रुपमा नीति तथा कार्यक्रम आएको छ ।’ प्रधानमन्त्रीले कुटनीतिक निकायसँग राखेको धारणालाई ठिक मान्न नसकिने ओलीले बताए । 

साथै ओलीले अर्थतन्त्र उकास्दै गरेको एमालेको सरकारलाई ढालेर कांग्रेस-माओवादीसहित नयाँ गठबन्धन बनेको र त्यसले जनतालाई दु:ख दिइरहेको बताए। ‘नेकपा एमालेको सरकारलाई विस्थापन गरी बनेको कांग्रेस माओवादीसहितको गठबन्धन सरकार नै हाम्रो अर्थतन्त्रलाई संकटको डिलमा पुर्‍याउने प्रमुख कारक हो,’ उनले भने।

देशको अर्थतन्त्र ध्वस्त बनाउने गठबन्धन बनेको उनको दाबी थियो। ‘प्रधानमन्त्रीलाई लागेको होला, सरकार राम्रो छ भनिदिए हुन्थ्यो। तथ्यांकले अर्कै कुरा बोल्छ कसरी बोल्ने?,’ उनले भने, ‘देश र जनतालाई दुख दिन र दु:खको कारण भएको छ अहिलेको गठबन्धन।’

आइतबार​ ७ जेठ २०८० ०१:१६ PM मा प्रकाशित

प्रतिक्रिया