×

स्वास्थ्यमन्त्री र डब्लुएचओका महानिर्देशकबीच भेट

images

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा र विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससबीच शिष्टचार भेटवार्ता भएको छ । 

स्वास्थ्य मन्त्रालयमा उहाँहरुबीच शिष्टाचार भेटवार्ता भएको थियो । सो अवसरमा स्वास्थ्यमन्त्री खतिवडाले नेपालले जनस्वास्थ्य क्षेत्रमा केही ठोस उपलब्धि हासिल गर्न सफल भएको बताउनुभयो । 

उहाँले मातृ तथा बाल मृत्यु न्यूनीकरणमा प्राप्त भएको उपलब्धि उल्लेखनीय रहेको बताउनुभयो । ट्रकोमा निवारण तथा कालाजार उन्मूलनका लागि नेपालले चालेका निर्णायक कदमका सम्बन्धमा डब्लुएचओको सहयोग सराहनीय रहेको उहाँको भनाइ रहेको थियो । सरकारले सन् २०३० सम्ममा राष्ट्रसङ्घीय दिगो विकास लक्ष्यमध्येको लक्ष्य नं ३ ‘जनताको सुस्वास्थ र तन्दुरुस्ती’सम्बन्धी प्रतिबद्धता पूरा गर्ने लक्ष्य राखेको उहाँले बताउनुभयो । 

“कोभिड–१९ को महामारीमा विश्वभरका मानिसको जीवन बचाउनका लागि यहाँको नेतृत्वदायी भूमिका, निर्णय र कार्यको कदर गर्दछौँ । यो योगदानलाई विश्वले सधैँ सम्झिरहनेछ”, उहाँले भन्नुभयो, “जनस्वास्थ्य चुनौतीको सामना गर्न डब्लुएचओले आफ्नो स्थापनाकालदेखि नै सम्पूर्ण विश्वका लागि सहयोगी साझेदार रहिआएको छ । बिफरको उन्मूलन, इबोला खोपको विकास जस्ता थुप्रै जनस्वास्थ्य उपलब्धि हासिल गर्न डब्लुएचओले अग्रणी भूमिका खेलेको छ ।”

मन्त्री खतिवडाले कोभिड–१९ महामारीले मानव जीवनका सबै पक्षमा गम्भीर असर पारेको उल्लेख गर्दै स्वास्थ्य प्रणाली र अर्थतन्त्रका क्षेत्रमा परेको दुष्प्रभाव र त्यसबाट उत्पन्न हुने दुष्परिणामका अलावा हाम्रा अगाडि अरू धेरै चुनौती रहेको बताउनुभयो । 

उहाँले स्वास्थ्य सङ्कटको सामना गर्न र राष्ट्रिय, क्षेत्रीय एवं विश्वस्तरमा आपसी सहयोग एवं सहकार्यलाई बढावा दिनका निम्ति डब्लुएचओको भूमिका अझै सुदृढ बनाइनुपर्ने आवश्यकता सबैलाई महशुस भएको भनाइ राख्नुभयो । 

उहाँले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाद्वारा थालिएको जीन सिक्वेन्सिङ संस्थाको स्थापना र सञ्चालन गर्न प्राविधिक सहायता उपलब्ध गराएकामा डब्लुएचओप्रति आभार व्यक्त गर्नुभयो । मन्त्री खतिवडाले कोभिड–१९ विरुद्धको खोप पु¥याउन डब्लुएचओले हामीलाई निरन्तर सहयोग प्रदान गरिरहेको उल्लेख गर्दै सन् २०२२ को मध्यसम्ममा ७० प्रतिशतमा पूर्ण खोप पु¥याउने विश्वस्वास्थ्य सङ्गठनको लक्ष्य हासिल गर्ने पथमा नेपाल रहेको उल्लेख गर्नुभयो । 

उहाँले नेपालमा सहकार्य केन्द्र स्थापना गर्नका लागि डब्लुएचओको साथ र सहयोग आवश्यक देखिएकाले यसको सुरुआत बाल तथा स्त्रीरोग ओन्कोलोजीमा केन्द्रित मातृ र बालस्वास्थ्य सहकार्य केन्द्रको स्थापना गर्न डब्लुएचओका महानिर्देशकसँग अनुरोध गर्नुभयो । 

हेटौँडास्थित किटजन्य रोगको अध्ययन तथा तालिम केन्द्रलाई दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) क्षेत्रीय तालिम र अनुसन्धान केन्द्रका रूपमा विकास गर्न उहाँले आग्रह गर्नुभयो । भेटवार्तामा महानिर्देशक टेड्रोस बाल तथा स्त्रीरोग ओन्कोलोजीमा केन्द्रित मातृ र बाल स्वास्थ्य सहकार्य केन्द्रको स्थापना गर्न सहकार्य गर्नेबारे बताउनुभएको स्वास्थ्य सचिव डा रोशन पोखरेलले जानकारी दिनुभयो । 

सचिव पोखरेलका अनुसार किटजन्य रोगको अध्ययन तथा तालिमकेन्द्रलाई स्तरोन्नतिमा सहयोग गर्नेसमेत उहाँले बताउनुभयो । महानिर्देशक टेड्रोसले कोभिड–१९ नियन्त्रण तथा रोकथाममा नेपाल सरकारले गरेको कामको उच्च प्रशंसा व्यक्त गर्दै धन्यवाद दिनुभयो । 

सचिव पोखरेलले डब्लुएचओको दोस्रो कार्यकालका लागि महानिर्देशक डा टेड्रोसलाई नै समर्थन गर्ने बताउनुभयो । भेटघाटमा मन्त्रालय र डब्लुएचओका उच्च अधिकारीको सहभागिता रहेको थियो । 

बिहीबार ८ बैशाख २०७९ १०:४४ PM मा प्रकाशित

प्रतिक्रिया