×

देशभरका वनमा डढेलो, वातावरण प्रदूषण उच्च

images

काठमाडौं । देशभर एकैदिन १७ जिल्लामा ३ सय ७९ स्थानमा डँढेलो लागेको छ । बढ्दो तापक्रम, प्रतिकूल मौसम, वनमा रहेको ज्वलनशील पदार्थको उपस्थिति तथा भौगोलिक विकटताका कारण वन डढेलो नियन्त्रण र व्यवस्थापन चुनौतीपूर्ण भएको छ ।

वन तथा भू–संरक्षण विभागले दिएको जानकारीअनुसार एकै दिन ३ सय ७९ डढेलोका घटना यस वर्षकै सबैभन्दा उच्च हो । वन डढेलोबाट निस्केको धुवाँका कारण देशभरको आकाश तुवाँलोले ढाकेको छ भने यसको वायुप्रदूषणले जनस्वास्थ्यमा समस्या देखिन थालेको छ ।

विभागको तथ्यांकअनुसार यही वैशाख १ गते २६ जिल्लाका १ सय १२, २ गते आठ जिल्लाका २८, ३ गते १२ जिल्लाका ३२, ४ गते १० जिल्लाका ६४ र वैशाख ५ गते ३३ जिल्लाका १ सय ८० स्थानमा डढेलो लागेको थियो ।

नेपालमा विशेषगरी तराई र भित्री मधेशका जिल्लामा वन डढेलो बढी लाग्ने गरेको विभागको सूचना कक्षका सहायक वन अधिकृत गोविन्दकुमार श्रेष्ठले बताए । पछिल्ला दिनमा दाङ, चितवन, अर्घाखाँची, प्युठान, सुर्खेतमा बढी वन डढेलो लागेको उनले बताए ।

वन डढेलो घटना मानवीय गतिविधिका कारण बढी हुने गरेको छ । स्थानीयले घाँसको मुना पलाउने आशमा जानाजानी आगो लगाउने गरेका छन् । डढेलो वन व्यवस्थापनको राम्रो औजार भए पनि त्यो नियन्त्रित गरिनुपर्ने आवश्यकता रहेको छ ।  

डढेलोले वन्यजन्तु, बोटविरुवा, वनस्पति, जडिबुटी र काठ–दाउरालगायतका जैविक तथा पर्यावरणीय क्षति बढ्दो छ । तर, पर्याप्त बजेट नभएको भन्दै डढेलो नियन्त्रण गर्न सरकारी तह र निकायबाट प्रभावकारी पहल भएको छैन । एक दशकअघि नै बनाइएको वन डढेलो नियन्त्रण रणनीति अहिलेसम्म अलपत्र छ । २०६७ मा बनेको रणनीति कार्यान्वयनका लागि अहिले पनि कार्ययोजना नै बनेको छैन ।

वातावरण विभागका अनुसार डढेलो र प्रदूषणका स्थानिय स्रोतका कारण काठमाडौं उपत्यका र देशका मध्य तथा पूर्वी भागमा वायु प्रदूषणको स्तर अत्याधिक रुपमा बढेको पाइएको छ । ‘यसमा पनि बिहान र बेलुकाको समयमा प्रदूषण अत्याधिक बढेको पाइएको छ ।

प्रदूषणको बढ्दो स्तरका कारण तपाईं हाम्रो स्वास्थ्यमा नकारात्मक असर पर्ने र विशेष गरी बालबालिका, वृद्धवृद्धा एवम् श्वासप्रश्वास सम्बन्धी बिरामी र मुटुका बिरामीहरु बढी प्रभावित हुने भएकोले सकेसम्म घर बाहिर ननिस्किनुहुन र सबै नागरिकले घर बाहिर निस्किंदा विशेष सावधानी अपनाउनु हुन अपिल गरिन्छ,’ विभागले भनेको छ ।

शुक्रबार​ ८ बैशाख २०८० १२:४३ PM मा प्रकाशित

प्रतिक्रिया