×

प्रजातान्त्रिक योद्धा सर्दारको निधन

images

नेपालको वामप्रजातान्त्रिक आन्दोलनका योद्धा महोत्तरीको भङ्गाहा नगरपालिका–६ का सीताराम सर्दारको आज निधन भएको छ । लामो समयदेखि पक्षघात, मधुमेह र उच्चरक्तचापको स्वास्थ्य समस्याबाट गल्दै आउनुभएका सर्दारको आज ८० वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको हो ।

 मधेसमा पछि परेको बाँतर जाति समुदायका सर्दार २०३६ सालको ऐतिहासिक जनआन्दोलनसँगै राजनीतिमा सक्रीय हुँदै आउनु भएको थियो । विसं २०३८ मा तत्कालीन विष्णुबहादुर मानन्धर नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा आबद्ध भई बहुदलीय व्यवस्था स्थापनाका लागि भएका सबै सङ्घर्षका मोर्चामा अग्रणी भूमिका दिँदै आउनुभएका सर्दार २०४९ मा नेकपा (एमाले)मा समाहित हुनुभएको थियो ।

 परम्परावादी जातीय भेदभावले जकडिएको समाजमा सर्दारले छुवाछूत र जातीय उत्पीडनविरुद्ध लगातार सङ्घर्ष गर्नुभयो । दलभित्र बाँतर जाति समुदायबाट जिल्ला नेतृत्वमा पुग्ने थोरै उदाहरणभित्र सर्दार रहनुभएको एमालेका पोल्युटब्यूरो सदस्य तथा महोत्तरी जिल्ला इन्चार्ज रामदयाल मण्डल बताउनुहुन्छ । सर्दारको निधनमा जिल्लाका सबै दलले शोक व्यक्त गरेका छन् । एमालेका जिल्ला अध्यक्ष टेकबहादुर बलम्पाकीले सर्दार इमान र निष्ठाका पक्का व्यक्ति रहनुभएको बताउनुभएको छ । 

 त्यसैगरी नेपाली कांग्रेसका भङ्गाहा नगर सभापति रुपनारायण सिंहले मुलुकको प्रजातान्त्रिक आन्दोलनमा सर्दारको निःस्वार्थ योगदान सधैँ सम्झना रहने उल्लेख गर्नुभएको छ । सर्दार श्रमजीवी जनताका सच्चा साथीका रुपमा सम्झनामा रहने नेकपा (माओवादी केन्द्र)का स्थानीय नेता राजनारायण थारूको प्रतिक्रिया छ । 

यसैगरी जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका भङ्गाहा नगर समितिले शोक वक्तव्य जारी गर्दै सर्दारप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । सर्दारको आजै साँझ उहाँको बस्ती मजरा नजिकैको रातु नदी तटमा अन्तिम संस्कार सम्पन्न गरिएको छ । सर्दारका एक पत्नी, छ छोरा÷छोरी र नातिनातिना हुनुहुन्छ ।

सोमबार ९ फागुन २०७८ ०८:१९ PM मा प्रकाशित

प्रतिक्रिया