×

आठ वर्षसम्म उद्योग सञ्चालन नगरेपछि सम्झौता रद्द

images

हेटौँडा (मकवानपुर), पुस ४ गते । हेटौँडा औद्योगिक क्षेत्रका चार वटा उद्योग सञ्चालनका लागि गरिएको सम्झौता लामो समयसम्म कार्यान्वयन नभएपछि रद्द  गरिएको छ । हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जग्गा सम्झौता गरेको आठ वर्षसम्म पनि उद्योग स्थापना नगर्ने चार उद्योगको सम्झौता रद्द गरेकोे हो ।

हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका क्षेत्र व्यवस्थापक भोजराज बिनाडीले सनराइज कन्टेनर्स प्रालि, नाथ फुड्स इण्डष्ट्रिज प्रालि, लक्ष्मी पेन्ट्स प्रालि र बिवाइएस हेटौँडा प्रालिसँग गरिएको सम्झौता रद्द गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार सनराइज कन्टेनर्सले प्लाष्टिकका वस्तु, नाथ फुड्स इण्डष्ट्रिजले बिस्कुट तथा बेकरी, लक्ष्मी पेन्ट्सले वाल पुटिङ, रङरोगन र बिवाइएस हेटौँडाले विभिन्न प्रकारका फ्ल्याट, एङ्गल फाइल, कम्बिनेसन प्लायरलगायत औजार उत्पादन गर्नेगरी उद्योग सञ्चालनका लागि जग्गा भाडामा लिन सम्झौता गरेका थिए । 

जग्गा ओगट्ने तर उद्योग सञ्चालनमा नल्याउने भएपछि सम्झौता रद्द गर्न बाध्य भएको उहाँले बताउनुभयो । सम्झौता रद्द हुँदा ३० रोपनी औद्योगिक क्षेत्र कार्यालयको मातहतमा आएको उहाँले जानकारी दिनुभयो । सम्झौता भएको छ महिनाभित्रमा आवश्यक संरचना निर्माण गरी दुई वर्षभित्रमा उद्योग सञ्चालनमा ल्याइसक्नुपर्ने र सञ्चालनमा ल्याउन नसकेमा दुई पक्षबीच भएको सम्झौता स्वतः रद्द हुने उल्लेख थियो । समय सीमा सकिएको अवस्थामा पटक-पटक उद्योगका सञ्चालकलाई अनुरोध गर्दा पनि वास्ता नगरिएका कारण सम्झौता खारेज गर्नु परेको कार्यालयले जनाएको छ ।  

 

बुधबार ४ पुस २०८० ०४:४३ PM मा प्रकाशित

प्रतिक्रिया