×

माओवादी र नेकपा एसको साथले ठूलो पार्टी बनेको कांग्रेसले भुल्नु हुन्न- महामन्त्री विश्वप्रकाश शर्मा

images

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्ताको आकांक्षाका लागि अर्को गठबन्धन बनाउन नहुने बताएका छन् ।

नेपाल ट्रेड युनियन कांग्रेसले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा महामन्त्री शर्माले चुनावमा जाँदा एउटा गठबन्धन बनाउने र चुनाव सकिएपछि सत्ताको लोभका लागि अर्को गठबन्धन बनाउन नहुनेमा जोड दिए । 

सत्ताको आकांक्षा, आग्रह पूर्वाग्रहभन्दा माथि उठेर अहिलेको गठबन्धनलाई जोगाएर जाने कुरामा कांग्रेस, माओवादी र समाजवादीका अध्यक्षहरु गम्भीर हुनुपर्ने उनले बताए । उनले सबै दलले गठबन्धनको आवश्यकता र औचित्यलाई भूल्न नहुने धारणा राखे । कुनै समय बहुमत प्राप्त गरेको कांग्रेस अहिले ठूलो दल हुनुमा माओवादी र समाजवादीको साथ र समर्थनलाई भूल्न नहुने उनको भनाइ छ ।

उनले प्रधानमन्त्री आलोपालो हुने भएकाले गठबन्धनकै प्रक्रिया भित्रबाट जानुपर्ने र राष्ट्रपति तथा सभामुखको चयन हुँदै गर्दा आवश्यक राख्ने सहमति, सन्तुलन, परिपक्वताका आधारमा निष्कर्षमा पुग्नुपर्ने बताए । राष्ट्रपति व्यक्ति मात्रै नभइ प्रवृतिको रुपमा शितल निवास प्रवेश गर्ने भएकाले राष्ट्रपति को बन्ने भन्ने बिषयलाई कम प्राथमिकताको बिषय बनाउन नहुने उनले बताए ।

मङ्गलबार ५ पुस २०७९ १२:४३ PM मा प्रकाशित

प्रतिक्रिया