पोखरा । सहकारी ठगी आरोपमा शुक्रबार पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालत लगिएको छ। शुक्रबार काठमाडौँबाट पक्राउ परेलगत्तै पोखरा पुर्याइएका लामिछानेलाई म्याद थप गर्नका लागि प्रहरीले अदालत लगेको हो। जिल्ला अदालत कास्कीले आइतबारका लागि म्यादसम्बन्धी फाइलहरु हेर्नका लागि न्यायाधीश दाहाललाई जिम्मेवारी तोकेको अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए ।
दाहाल कास्की जिल्ला अदालतका एक नम्बर न्यायाधीश हुन् । शुक्रबार काठमाडौंमा पक्राउ परेका लामिछानेलाई सोही दिन राति नै पोखरा ल्याइएको हो । उनलाई केहीबेरमा अदालतमा उपस्थित गराइँदैछ । शनिबार सार्वजनिक बिदा परेकाले उनलाई आजमात्रै अदालत उपस्थित गराउन लागिएको हो ।
पोखराको सूर्यदर्शन सहकारीको बचत हिनामिनामा संलग्न रहेको आरोपमा हालसम्म ६० जनालाई प्रतिवादी बनाइएको छ । त्यसमध्ये ७ जनालाई अदालतबाट अनुमति लिएर र २ जनालाई जरुरी पक्राउ पुर्जी दिएर नियन्त्रणमा लिइएको थियो । यसअघि पक्राउ परेर मुद्दा चलाइएका मध्ये ६ जना पुर्पक्षका लागि हिरासतमा रहेका छन । यस्तै सभापति लामिछाने पक्राउसँगै दुई पक्षीय प्रदर्शन हुन थालेपछि कास्की प्रशासनले पोखराका दुई स्थानमा निषेधित क्षेत्र घोषणा गरेको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बिहान पौने १२ बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधित क्षेत्र घोषणा गरेका हुन् । जसअनुसार पोखरास्थित सहिद चोक आसपास क्षेत्र र गैह्रापाटन आसपास क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।
सहित चोक आसपास क्षेत्रमा पूर्वतर्फ वाई चोक, पश्चिमतर्फ फिस्टेल चोक, उत्तरतर्फ मालपोत कार्यालय र दक्षिणतर्फ मुस्ताङ चोकसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । यस्तै गैह्रापाटन आसपासका क्षेत्रमा पालिखेचोकदेखि नविल माविसम्मको सडक क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।
त्यस्तै अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्नसमेत निषेध गरिएको छ । उक्त अवधिमा यस आदेशको उल्लङ्घन गर्ने जोसुकै उपर प्रचलित कानुन बमोजिम कारबाही हुने आदेशमा उल्लेख छ । सहिदचोकआसपास र गैह्रापाटनआसपास क्षेत्रमा निषेधाज्ञा जारी भएको हो ।
यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि शनिबारदेखि नै पोखरामा नेता कार्यकर्ताले प्रदर्शन गरिरहेका छन् । लामिछानेलाई जिल्ला अदालतमा म्याद थपका लागि लगिएको छ । त्यस्तै पोखराका सहकारीपीडितले पनि राष्ट्रबैंक चोक नजिकै प्रदर्शनको कार्यक्रम राखेका छन् । यस्तोमा दुवै पक्षबीच झडप हुन सक्ने भन्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।
प्रतिक्रिया