×

भारतीय प्रधानमन्त्री मोदीसँग परराष्ट्रमन्त्री राणाको शिष्टाचार भेट

images

काठमाडौं । भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गरेकी छन् । नयाँदिल्लीमा रहेको प्रधानमन्त्री निवासमा हिजो सोमबार बेलुका भएको भेटमा परराष्ट्रमन्त्री राणा र प्रधानमन्त्री मोदीबीच नेपाल–भारत सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल भएको छ । साथै मन्त्री राणाले मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिइन् ।

भेटपछि सामाजिक सञ्जाल एक्स अर्थात् ट्वीटरमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको नेपाल भ्रमणको निम्तोपत्र मोदीलाई हस्तान्त्ररण गरेको जानकारी दिएकी छन् । भेटका क्रममा नेपाल–भारत बहुआयामिक सम्बन्धका विविध पक्ष तथा दुई देशको आपसी हित र सरोकारका विषयमा कुराकानी भएको नयाँ दिल्लीमा रहेको नेपाली दूतावासले जनाएको छ ।

नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा परराष्ट्रमन्त्री राणाले भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री ओलीका तर्फबाट शुभकामनासमेत सुनाएकी उल्लेख छ । मोदीले निमन्त्रणाप्रति धन्यवाद व्यक्त गर्दै चाँडै नै नेपाल भ्रमणमा आउने इच्छा व्यक्त गरेका छन् ।

त्यसअघि हिजो मन्त्री डा. राणाले भारतीय समकक्षी विदेशमन्त्री एस जयशङ्करसँग भेटवार्ता गरेकेकी थिइन् । भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा मन्त्री राणा आइतबार भारतको औपचारिक भ्रमणमा गएकी थिइन् । उनी पर्सि भदौ ६ गते स्वदेश फर्किने छन् ।

मङ्गलबार ४ भदौ २०८१ ०७:३९ AM मा प्रकाशित

प्रतिक्रिया