×

ओलीलाई प्रचण्डको जवाफ- संसद विघटन गर्वको विषय होइन- प्रधानमन्त्री प्रचण्ड

images

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद् विघटन गर्नु कुनै गर्वको विषय नभएको बताएका छन्। सोमबार प्रतिनिधि सभामा दोस्रो पटक विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले संसदको पहिलो दिनको बैठकमा नै संसद विघटन ठिक थियो भन्ने कुराले आफूलाई नैतिक संकट परेको बताए। 

एमाले अध्यक्ष ओलीले संसद्को पहिलो बैठकमै संसद् विघटन गर्न पाउने अभिव्यक्तिको जवाफ दिँदै प्रचण्डले यस्तो जवाफ दिएका हुन्। संसदमा विश्वासको मत माग्दै उनले भने, ‘गठबन्धनका घटकबीच केही राजनीतिक र वैचारिक मतभेद थिए। तर, हामीले न्यूनतम साझा कार्यक्रम बनाएर सहमतिको आधार तयार गरेका थियौँ। विगतको मतभेदलाई नउठाउने समझदारी गरेका थियौँ। म त्यो प्रतिबद्धतामा कायम रहे तर केही पक्षबाट त्यसको पालना भएन। संसदमा पहिलो दिन नै संसद् विघटनको अत्यन्त संवेदनशील विषयले प्रवेश पायो र त्यसले सिंगो देश तरङ्गीत पनि बन्यो। त्यो विषयको उठाउन सान्दर्भिक थिएन। देशमा ठुलो संवैधानिक र राजनीतिक संकट त्यो कदम कुनै गर्वको विषय थिएन।’

संसद् विघटनलाई सर्वोच्च अदालतले पनि दुई पटक असंवैधानिक भनिसकेको उल्लेख गर्दै संवैधानिक निरूपण भइसकेको अप्रिय विषयको प्रवेशले गठबन्धनमा अविश्वास मात्रै बढाएको उनको भनाइ छ। गठबन्धन बनाउँदा एमाले र राप्रपाले स्थायित्वको नारा अघि सारे पनि उनीहरू त्यसबाट पछि हटेको प्रधानमन्त्री प्रचण्डले बताए।

‘उहाँहरूले स्थायित्व भन्नुभएको थियो तर पछि किन समर्थन फिर्ता लिनुभयो मलाई थाहा छैन,’ प्रचण्डले भने,‘त्यो कुरा उहाँहरूलाई नै थाहा होला। तर अहिलेसम्म उहाँहरूले सरकारको यो निर्णय गलत भएकाले समर्थन फिर्ता लिएका हौं भन्न सक्नुभएको छैन। त्यसमा मलाई खुसी छ।’

सोमबार ६ चैत २०७९ ०१:४९ PM मा प्रकाशित

प्रतिक्रिया