×

उच्च अदालत पाटनको आदेशविरुद्ध क्रिकेटर सन्दीप लामिछानेद्वारा सर्वोच्च अदालतमा पुनरावेदन

images

काठमाडौँ । राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेले पाटन उच्च अदालतले गरेको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेका छन् । विदेशी भूमिमा राष्ट्रिय टीमबाट खेल्न सर्वोच्चको फैसलाबाट अवरोध पुगेपछि उनले पुनरावेदन गरेको अधिवक्ता सरोज कृष्ण घिमिरेले बताए ।

काठमाडौं जिल्ला अदालतले सन्दीपलाई जेलमै राखेर पुर्पक्ष गर्ने आदेश दिएको थियो । त्यसका विरुद्ध सन्दीपले पाटन उच्च अदालतमा पुनरावेदन गरेका थिए । उच्च अदालतले जिल्ला अदालतको फैसला उल्टाउँदै सन्दीपलाई २० लाख धरौटीमा छोडिदियो ।

तर, उनलाई विदेश जान अदालतले रोक लगाएको छ । यसविरुद्ध सन्दीपले एक साताअघि सर्वोच्चमा पुनरावेदन गरेका हुन् ।  अदालतले लगाएको प्रतिबन्धका कारण लामिछानेले संयुक्त अरब एमिरेट्स (यूएई) मा हुने आगामी शृङ्खलामा सहभागी हुन पाउने छैनन । 

नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका सन्दीपलाई गत पुस २७ गते उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो । उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले सन्दीपलाई धरौटीमा छाड्न आदेश दिएको हो । 

अदालतले दिएको आदेशमा सन्दीपलाई  नेपाल छाड्न प्रतिबन्ध लगाइएको छ भने जाहेरवालीको परिवारलाई भेट्न, धम्की दिन वा प्रभावमा पार्न निषेध गरिएको छ । त्यसै गरी मुद्दाको सम्बन्धमा सामाजिक सञ्जाल लगायतमा लेख्न प्रतिबन्ध लगाइएको छ ।

त्यसै गरी आदेशमा उपत्यका छाड्नुपरेमा काठमाडौँ प्रहरीलाई जानकारी गराई स्वीकृति लिनुपर्ने शर्त दिइएको छ भने सन्दीपको मोबाइल डिभाइसबाट फोन कल, म्यासेज वा लोकेशनको निरन्तर निगरानी गर्न भनिएको छ ।  

सर्तको पालना नगरेमा जिल्ला अदालतमार्फत पुनः पक्राउ गरी थुनामा राख् नसक्ने अदालतको आदेशमा उल्लेख छ । अदालत स्रोतका अनुसार सन्दीपले गरेको पुनरावेदनमा फागुन १२ गतेलाई पेसी तोकिएको छ ।

पाटन उच्च अदालतको फैसलाविरुद्ध सरकारी वकिलको कार्यालयले पनि सर्वोच्चमा पुनरावेदन गरेको थियो । उसले सन्दीपलाई जेलमै राखेर मुद्दा अगाडि बढाउनुपर्ने माग गरेको छ । उक्त पुनरावेदनमा सर्वोच्चले पाटन उच्च अदालतको फैसलाको मिसिल झिकाउने आदेश दिएको थियो ।  
 

सोमबार ८ फागुन २०७९ ०१:०९ PM मा प्रकाशित

प्रतिक्रिया