×

प्रधानमन्त्री प्रचण्डद्वारा मृत्युपश्चात् शरीरका सबै अंगदानको घोषणा

images

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको क्षमता विस्तार गर्ने बताएका छन्।

केन्द्रले एक हजार वटा मिर्गौला प्रत्यारोपण सम्पन्न गरेको उपलक्ष्यमा आज आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो केन्द्रको क्षमता विस्तार गर्ने बताएका हुन्। साथै उक्त  अवसरमा प्रधानमन्त्रीले आफ्नो मृत्युपश्चात् सम्पूर्ण शरीर दान गर्ने घोषणा गरेका छन्।प्रधानमन्त्री प्रचण्डले मृत्युपश्चात् शरीरका सबै अंगदानको घोषणा गरेका छन् । विशेष कार्यक्रमलाई सम्बाेधन गर्दै प्रधानमन्त्रीले भने, ‘मेरो मृत्युपश्चात् सम्पूर्ण शरीर दान गर्ने घोषणा गर्दछु ।’

अंगदानको घोषणाले सिंगो देश र जनसमुदायमा सकरात्मक प्रेरणा मिल्ने उनको विश्वास छ । भने, ‘मृत्युपश्चात् आफ्नो सम्पूर्ण शरीर अंग प्रत्यारोपणका लागि दान गर्ने घोषणा गर्दछु। यसले अंग प्रत्यारोपणका क्षेत्रमा सिंगो देश र जनसमुदायलाई सकारात्मक प्रेरणा मिल्ने विश्वास लिएको छु।’

नेपालमा प्रत्यारोपणको व्यवस्था नहुँदा विदेशमा गएर ठूलो धनरासी खर्च गरेर मिर्गाैला प्रत्यारोपण गर्नुपर्ने अवस्था रहेकोमा केन्द्रले त्यो अवस्थालाई धेरै हदसम्म रोक्न  भूमिका खेलेको उनले बताए ।प्रधानमन्त्रीले अगाडि भने, “डायलासिस सेवा सर्वसाधारणको पहुँचमा थिएन यो महँगो भएकाले पनि आर्थिक अवस्था कमजोर भएका मिर्गौला रोगीले सेवा लिन गाह्रो थियो। केन्द्रले विपन्न रोगीलाई सहयोग होस् भन्ने हेतुले २०६९ चैत १६ गतेदेखि निःशुल्क डायलासिस सेवा पनि आरम्भ गरेको थियो। केन्द्रमा मिर्गौला मात्र नभएर कलेजो पनि प्रत्यारोपण हुने गरेको छ। यसलाई थप आधुनिक र प्रभावकारी बनाउने हाम्रो जिम्मेवारी छ।”

केन्द्र विस्तारका लागि जग्गाको आवश्यकता रहेको प्रधानमन्त्रीको भनाइ छ। प्रधानमन्त्री दाहालले भने, “अघिल्लोपटक म प्रधानमन्त्री हुँदा सल्लाघारीमा ९९ रोपनी जग्गा प्रत्यारोपण केन्द्रलाई दिने निर्णय गराएको थिएँ। मैले प्रधानमन्त्री छोडेपछि त्यो निर्णय लागू नभएको कुरा सुनेको छु। यसलाई सम्बोधन गरिनेछ।”नेपालमा अहिले वर्षमा करिब तीन सय मिर्गौला प्रत्यारोण हुँदै आएको छ। त्यसमा दुई सय वटा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले गर्दै आएको छ। बाँकी अन्य संस्थाले वर्षमा एक सय बिरामीको मिर्गौला प्रत्यारोपण गर्दै आइएका छन्।

शुक्रबार​ ६ माघ २०७९ १२:४३ PM मा प्रकाशित

प्रतिक्रिया