×

मेसीको नेतृत्वमा ३६ वर्षपछि अर्जेन्टिनाले जित्यो विश्वकप

images

काठमाडौं । फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिनाले तेस्रोपटक विश्वपको उपाधि जितेको छ । फ्रान्सका किंग्सले कोमान र औरेलियन टुअमानीले पेनाल्टी मिस गरेपछि अर्जेन्टिना ४–२ गोलअन्तरले विजयी बन्यो । यसअघि सन् १९७८ र १९८६ को विश्वकप जितेको अर्जेन्टिनाको यो तेश्रो उपाधि हो र उसले ३६ वर्षपछि विश्वकप उपाधि उचालेको हो ।

टाइब्रेकरमा पहिलो पेनाल्टी फ्रान्सका केलियन एम्बाप्पेले गोलमा परिणत गरे । त्यसपछि अर्जेन्टिनाका लियोनेल मेस्सीले गाेल गरे । तर फ्रान्सका लागि दोस्रो पेनाल्टी हानेका किङ्स्ले कोमानको प्रहार अर्जेन्टिनी किपरले रोके । अर्जेन्टिनाको दोस्रो पेनाल्टी पाउलो डिबालाले गोलमा परिणत गरे ।

२-१ ले पछि परेको फ्रान्सको तेस्रो पेनाल्टी अउरेलियनले बाहिर प्रहार गरे । अर्जेन्टिनाका लागि तेस्रो पेनाल्टीमा लियोनार्दो पारडेसले गोल गर्दै टाइब्रेकरलाई ३-१ मा पुर्‍याए । फ्रान्सको चौथो पेनाल्टी राण्डानल कोलोमुनीले गोल गरे पनि अर्जेन्टिनाका लागि चौथो पेनाल्टीलाई गोञ्जालो मोन्टेलले जाली चुमाए ।

यसअघि खेलमा अर्जेन्टिनाले २ पटक लिएको अग्रता जोगाउन नसक्दा खेल टाइब्रेकरमा पुगेको थियो । ८० मिनेटसम्म  अर्जेन्टिनाले २–० को अग्रता बनाएको थियो । लियोनेल मेस्सीले २३ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । ३६ औं मिनेटमा डिमारियाले अर्जेन्टिनाको अग्रता दोब्बर पारे ।

पहिलो हाफमा निरस खेल प्रदर्शन गरेको फ्रान्स दोस्रो हाफमा खेलमा फर्कियो । तर फ्रान्सले गोल गर्ने ८० ‌औं मिनेटसम्म कुर्न पर्‍यो । ८० औं मिनेटमा पेनाल्टीमा गोल गरेका केलियन एम्बाप्पेले त्यसको ९० सेकेन्डभित्र अर्को गोल गरेर खेल बराबरी गरे ।

निर्धारित ९० मिनेटमा दुवै टिमबाट २-२ गोल भएपछि खेल अतिरिक्त समयमा धकेलियो । १०८ औं मिनेटमा मेसीले दोस्रो गोल गरेर टिमलाई फेरि अग्रता दिलाए ।

तर फ्रान्सले ११८ औं मिनेटमा अर्को पेनाल्टी पायो । जसलाई  युवा स्टार एम्बाप्पेले खेर जान दिएनन् । उनले विश्वकप फाइनलमा ह्याट्रक पूरा गरे पनि उनको टिम टाइब्रेकरमा चुक्यो र लगातार दोस्रो पटक विश्वकप जित्ने सपना पूरा हुन पाएन ।

 

सोमबार ४ पुस २०७९ १०:२९ AM मा प्रकाशित

प्रतिक्रिया