×

प्रस्तावित १६ राजदूत सुनुवाइ समितिबाट अनुमोदित, जसपा नेपाल र रास्वपाको फरक मत

images

काठमाडौं । संसदीय सुनुवाइ समितिले सरकारद्वारा विभिन्न देशका लागि १७ देशका लागि प्रस्तावित राजदूतमध्ये १६ जनाको नाम अनुमोदन गरेको छ । सिंहदरबारमा आज बिहीवार बसेको समितिको बैठकले विभिन्न देशका लागि प्रश्तावित १७ मध्ये १६ जना राजदूतको नाम बहुमतले पारित गरेको हो ।

बैठकपछि निर्णय सुनाउँदै समिति सभापति ईश्वरीदेवी न्यौपानेले उजुरीकर्ताहरुको उजुरी, प्रस्तावित राजदूतको स्पष्टीकरण, कार्ययोजना, भनाइ सुनेर निर्णय लिइएको बताइन् । समितिमा छलफल गरी १६ देशका राजदूत बहुमतले पारित गरेको र श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको सम्बन्धमा केही कागजातहरु अपूरो लागेकाले सचिवालयलाई थप कागज मगाउन निर्देशन दिइएको उनले बताइन् ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले इजरायलका लागि प्रस्तावित राजदूत प्राध्यापक धनप्रसाद पण्डित, दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदुत प्रा.डा. कपिल श्रेष्ठ र मलेसियाका लागि प्रस्तावित डा. नेत्रप्रसाद तिमल्सिनामाथि फरक मत राखेको जानकारी दिइन् । जनता समाजवादी पार्टी, नेपालका सांसद प्रकाश अधिकारीको भारतका लागि प्रस्तावित राजदूत शंकर शर्माका लागि फरक मत रहेको बताइन् ।

समावेशिता अझै अपूरो रहेको सांसदहरुको गुनासोपछि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई बोलाएर यस विषयमा स्पष्टीकरण लिएको उनले बताइन् । उनले अहिले दुई राजदूत सिफारिस गरिएकोमा मधेसी महिला चित्रलेखा यादव र परराष्ट्र सेवाबाट सेवा लम्साललाई सिफारिस गरिएको बताइन् ।

बिहीबार ३ असोज २०८१ ०८:४९ PM मा प्रकाशित

प्रतिक्रिया