×

कोशीमा बाढीपहिरोबाट ८ जनाको मृत्यु, २८ जना अझै बेपत्ता

images

 विराटनगर । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण पूर्वी नेपालमा ८ जनाको मृत्यु भएको छ । केही दिनदेखिको अविरल वर्षाले कोशी पहाडका जिल्लाहरूमा धनजनको ठूलो नोक्सानी गरेको छ। खासगरी हेवा खोलाले पहाडी जिल्लामा धेरै क्षति गरेको छ। 

पहिरोले पुरेर र खोलाले बगाएर ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ पुरुष, एक बालिका र २ महिला छन् । ताप्लेजुङमा ३, पाँचथर २, भोजपुर र संखुवासभामा एक-एक जनाको मृत्यु भएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार मृत्यु हुनेमा भोजपुर ट्याम्केमयुङ-८ का ३२ वर्षीय मन्दीप राई, संखुवासभाको पाँचखपनका- ९ का वर्ष २६ को सन्तोष राई, पाँचथर फालेलुङ- ४ का ८ वर्षीय जुना साउदेन, फिदिम ११ का २८ वर्षीय सन्जोग लिम्बू, ताप्लेजुङ फिदिङ्वा-६ वर्ष ३० को गणेश तामाङ, वर्ष ६७ को केशर राई र सोही ठाउँका वर्ष ३६ को सुरेश राई छन् । यस्तै एलिशा माझीको पनि मृत्यु भएको छ । बाढी र पहिरोमा परी २८ जना अझै बेपत्ता  छन् । प्रहरीका अनुसार   तीन जना महिला र २५ जना पुरुष बेपत्ता भएका  हुन् ।

बेपत्तामध्ये सबैभन्दा धेरै संखुवासभामा १८ जना छन् ।  पाँचथरमा तीन, ताप्लेजुङमा तीन, भोजपुरमा दुई जना बेत्तपा भएका छन् । उनीहरूको खोजी कार्य भइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रदेश प्रहरीका अनुसार पाँचथरमा १२ वटा पुलमा क्षति पुगेको छ ।  मेची राजमार्ग अवरुद्ध भएको छ ।  यस्तै ३ वटा सवारी साधन बाढीले बगाएको छ भने ३२ वटा भवन तथा घरहरू पूर्णरुपमा क्षतिग्रस्त बनेको प्रदेश सरकारले जनाएको छ ।

आंशिक रूपमा २२ घरमा क्षति पुगेको छ । यस्तै विभिन्न स्थानमा गरी हालसम्म बाढी र पहिरोमा परी ७४ वटा चौपाया तथा ८४ वटा पशुपंक्षीको मृत्यु भएको छ । हालसम्म पहाडी जिल्लाको ४० रोपनी जग्गा बाढीले बगाइदिएको छ । 

शनिबारको वर्षाका कारण संखुवासभा, पाँचथर र  ताप्लेजुङमा बढी क्षति पुर्‍याएको थियो ।

सोमबार ४ असार २०८० ०१:०७ PM मा प्रकाशित

प्रतिक्रिया