×

दिगो शान्ति सुनिश्चित गर्न प्रतिबद्ध छौँ : प्रधानमन्त्री

images

काठमाडौँ, ५ माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्क्रमणकालीन न्यायलाई सबैको सहमतिमा निष्कर्षमा पुर्याएर दिगो शान्ति सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । 

युगाण्डाको काम्पलामा आयोजित असंलग्न आन्दोलन (नाम)को १९औँ शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै उहाँले नेपाल आफैँले विकास गरेको शान्ति प्रक्रियाको ‘मोडल’ बाह्य जगत्का लागि अनुकरणीय रहेको बताउनुभयो । 

“द्वन्द्वबाट स्थापित नेताका रूपमा सम्बोधन गर्दैगर्दा मलाई के विश्वास छ भने शान्ति सम्भव छ । दृढ विश्वास र इच्छाशक्तिले राष्ट्र र विश्वव्यापीरूपमा रहेका ऐतिहासिक, सामाजिक, सांस्कृतिक र आर्थिक अन्यायलाई सम्बोधन गर्न सकिन्छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो । 

नेपालले आफ्नो विकास प्रयासमा धेरै चुनौती सामना गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले अल्पविकसित राष्ट्रलाई गरिबीको दुष्चक्रबाट बाहिर निकाल्न र समृद्धिको यात्रामा डोर्याउन आवश्यक सहयोग अभिवृद्धिका लागि अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्नुभयो । 

नेपालले स्वतन्त्र, वस्तुनिष्ठ, सन्तुलित र असंलग्न परराष्ट्र नीति अवलम्बन गरेको जानकारी दिँदै उहाँले नेपालको परराष्ट्र नीति सार्वभौम समानता, आपसी सम्मान, आपसी हित र विवादको शान्तिपूर्ण समाधानमा आधारित रहेको स्पष्ट पार्नुभयो । “असंलग्नताको सिद्धान्त नेपालको परराष्ट्र नीतिको आधारभूत सिद्धान्तहरूमध्ये एक हो”, प्रधानमन्त्री दाहालले भन्नुभयो । 

शान्तिका प्रतीक गौतम बुद्धले दीक्षित गरेको शान्तिपूर्ण सहअस्तित्वको शाश्वत सत्यमा विश्वास गर्ने जनाउँदै उहाँले विविधतामा एकता र वसुधैव कुटुम्बकम् अर्थात् ‘विश्व एउटै परिवार’ नेपालीको जीवन पद्धति बनेको बताउनुभयो । प्रधानमन्त्री दाहालले भन्नुभयो, “यी मूल्य, मान्यता हाम्रा सामाजिक–सांस्कृतिक परम्परामा परापूर्वकालदेखि नै स्थापित हुँदै आएका छन् ।”

नेपाल शान्तिप्रिय देश भएकाले विश्वमा भएका सबै प्रकारका द्वन्द्व र भू–राजनीतिक प्रतिद्वन्द्वको निन्दा गर्दछ भन्दै प्रधानमन्त्री दाहालले युक्रेन र गाजामा भइरहेको द्वन्द्व अत्यन्त पीडादायी रहेको बताउनुभयो । “मध्यपूर्वमा शान्ति र स्थायित्वको चाहना गर्दै नेपाल संयुक्त राष्ट्रसङ्घको सान्दर्भिक प्रस्तावका आधारमा प्यालेस्टाइन र इजरायलबीचको मान्यता प्राप्त अन्तर्राष्ट्रिय सीमाभित्र शान्ति–सुरक्षाका लागि उभिन चाहन्छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो । 

शुक्रबार​ ५ माघ २०८० ०९:१९ PM मा प्रकाशित

प्रतिक्रिया