×

‘शक्ति राष्ट्र’ ले नेपाललाई खेलमैदान बनाउन लागे : सांसद देव

images

नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले शक्ति राष्ट्रहरूले नेपाललाई खेलमैदान बनाउन लागेको दाबी गर्नुभएकाे छ । 

आज सोमवार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद देवले एमसीसी र एसपीपी सम्झौताको सम्बन्धमा अमेरिका र चीनले आफू अनुकूल बोलेको भन्दै शक्ति राष्ट्रहरूले नेपाललाई खेलमैदान बनाउन लागेको बताउनुभएको हो । उहाँले नेपाल सार्वभौमसत्ता सम्पन्न देश भएकाले के लिने र के नलिने भन्ने निर्णय गर्ने अधिकार नेपाल सरकार र नेपाली जनताको भएको स्पष्ट पार्नुभयो । उहाँले नेपाललाई कुनै पनि शक्ति राष्ट्रहरूको खेलमैदान बनाउन नहुनेमा राजनीतिक दलका शीर्ष नेताहरूको ध्यानाकर्षण गराउनुभयो । 

सांसद देवले नेपालको कुनै पनि विषयमा अन्य देश बोलेमा आन्तरिक मामिलामा हस्तक्षेप हुन्छ भनेर सरकारले र राजनीतिक दलहरूले भन्न सक्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपालमा कुन विषयमा कसरी जाने यो नेपाली जनताको सार्वभौम अधिकारको कुरा हो । नेपाल सरकारको कुरा हो । नेपाल सार्वभौमसत्ता सम्पन्न देश हो । हाम्रो विषयमा एमसीसी लिनुहुन्छ कि लिनु हुँदैन ? एसपीपीमा जानु हुन्छ कि हुँदैन ? यो अथवा त्यो रूपमा नेपाललाई प्लेइङ ग्राउन्ड बनाउनेतिर दुनियाँका शक्तिहरू अग्रसर भएको छ । नेपाल सरकार र नेपाली जनताले, नेपालका राजनीतिक पार्टीहरूले नेपालको कुनै पनि विषयमा निर्णय लिने सार्वभौम अधिकार नेपाली जनताको हो तिमीहरू बोल्न पाउँदैनौँ भनाेस् ।’

सांसद देवले चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओको नेपाल भ्रमण र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको भारत भ्रमणले दुई देशका पार्टी–पार्टीबीचको सम्बन्ध राम्रो बनाएको उल्लेख गर्नुभयो । उहाँले देशको भू–राजनीतिक अवस्थाअनुसार छिमेकी देशहरूसँग सरकार–सरकार र जनता–जनताको स्तरमा मात्र नभइ पार्टी–पार्टीको स्तरमा पनि सम्बन्ध हुनु आवश्यक रहेको बताउनुभयो । 

सोमबार २ साउन २०७९ ०२:२७ PM मा प्रकाशित

प्रतिक्रिया