×

म्याद सकियो, काम सकिएन

images

मनाङ, ३ साउन: स्थानीयलाई सहज रुपमा स्वास्थ्य उपचारको पहुँचमा पु¥याउने उद्देश्यले निर्माण भइरहेको अस्पताल भवन पूरा हुन सकेको छैन । स्वास्थ्य चौकीभन्दा पनि कम जनशक्ति र साँघुरो भौतिक संरचनामा सेवा प्रवाह हुँदै आएको अस्पताललाई १५ शय्यामा स्तरोन्नतिको काम पूरा हुन नसकेको हो । 
    
    जीर्ण भौतिक पूर्वाधार भएको भवनबाट जिल्लावासीलाई प्रभावकारी सेवा पु¥याउन सकिएको छैन । यस अस्पताललाई १५ शय्यामा स्तरोन्नति गरेर जनतालाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यका साथ प्रदेश सरकारले चार वर्ष अघिदेखि अस्पताल निर्माणको काम भइरहेको छ । तेस्रोपटक थप गरिएको म्याद पनि सकियो तर काम सकिएको छैन । 
    
    तीनपटक म्याद थप गरिसकिएको छ । अन्तिम पटकको म्याद पनि सकिसकेको अवस्था भए पनि निर्माणको काम भने सकिएको छैन । उक्त अस्पताल भवनको संरचना निर्माण पूरा गर्न चौथो पटक म्याद थप गर्नुपर्ने अवस्था आएको छ । 
    
    ठेकेदारले बेलैमा निर्माण सम्पन्न नगर्दा सामान्य रोगका लागि पनि दुर्गम क्षेत्रबाट बिरामीले सास्ती खेप्नुपरेको छ । विसं २०८१ असार मसान्तसम्म अस्पतालको भवन निर्माण सम्पन्न गर्ने गरी म्याद थप गरिएको थियो । थप भएको समयमा पनि अस्पतालको भवन निर्माण सम्पन्न भएन । अहिले अस्पताल भवनको निर्माणको काम ठप्प भएको छ । 
    
    विसं २०४६ फागुन १९ गते निर्माण सम्पन्न भई सेवा प्रदान गर्दै आएको जिल्ला अस्पताल जीर्ण अवस्थामा पुगेको छ । दुर्गमका जनतालाई प्राथमिक उपचार दिने उद्देश्यले सञ्चालित अस्पतालको भवन जीर्ण भएपछि नयाँ भवन निर्माणका लागि रु १४ करोड लागतमा ओम बुद्ध÷बुद्ध जेभीले विसं २०७६ मा ठेक्का सम्झौता गरेको थियो । 

    सम्झौताअनुसार कम्पनीले काम गर्न नसकेपछि जिल्लावासीको सहज स्वास्थ्य सेवा पाउने आशा निराशामा परिणत भइरहेको छ । कामले गति लिन नपाएपछि सेवाग्राहीको अपेक्षा पूरा हुने अवस्था अझै पनि छैन । 
    
    समयमा अस्पतालको भवन निर्माण नहुँदा स्वास्थ्यको पहुँचमा पुग्न सकस भएको अवस्था छ । सामान्य उपचारका लागि पनि हेलिकप्टरको सहारा लिन जिल्लावासी बाध्य भएका छन् । हेलिकप्टर नभए जिल्ला बाहिरका अस्पताल जानुपर्ने बाध्यताबाट मनाङ्गी जनताले मुक्ति पाएका छैनन् । 

    ओम बुद्ध÷बुद्ध जेवी कम्पनीका ठेकेदार अनिल घिमिरेले आर्थिक रूपमा ८० र भौतिक रूपमा ९८ प्रतिशत काम सम्पन्न गरेको दाबी गर्नुभयो । ठेकेदार घिमिरेले रङ्गरोगन तथा टाइल बिछ्याउने कार्य भइरहेको जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “बर्खासँगै सडकको अवस्था र सामग्री ढुवानीमा समस्या भएकाले निर्माणमा ढिलाइ भएको हो ।” सडक सहज हुनासाथ कामले तीव्रता पाउने उहाँको भनाइ छ । विसं २०७५ देखि गण्डकी प्रदेशअन्तर्गत रही सञ्चालन हुँदै आएको अस्पतालबारे समस्या प्रदेश सरकारसमक्ष जानकारी गराएको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले जानकारी दिनुभयो ।
    
    अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा भारती मेहता मुख्य ठेकेदार र स्थानीय ठेकेदारको बीचमा आन्तरिक कुरा नमिल्दा अस्पताल भवन निर्माणले तीव्रता पाउन नसकेको बताउनुभयो । अस्पतालका तर्फबाट पनि आफूहरूले धेरै नै पहल गरेको उहाँको भनाइ छ । डा भारतीले पनि असार मसान्तभित्र अस्पताल निर्माण सम्पन्न भइसक्नेमा आशावादी रहेकामा पूरा हुन नसकेको बताउनुभयो । 
    
    सरकारले जिल्ला अस्पतालका लागि १८ जनाको स्थायी दरबन्दी तोकेको छ । हाल सो अस्पतालमा पाँचजना मात्र कार्यरत छन् । सरकारले हालसम्म सो दरबन्दी पूरा गर्न सकेको छैन । करारमा राखिएका कर्मचारी पनि असार मसान्त सकिएसँगै कतिपय कर्मचारीको कार्यावधि सकिएको छ । यसले जिल्ला अस्पतालको काम गर्न सकस भएको उहाँको भनाइ छ । 
    
    भएका दरबन्दीमा पनि दक्ष जनशक्ति छैनन् । अस्पतालमा दुई चरण गरेर काम गराउने वातावरण पनि छैन । दुर्गममा कर्मचारी आउनै मान्दैनन् । थोरै जनशक्तिबाट धेरै काम गर्नुपरेको डा भारतीको गुनासो छ । सरकारले दिने ९८ प्रकारका निःशुल्क औषधिबाट जिल्ला अस्पताल चलाउनुपरेको उहाँको गुनासो छ । उहाँले प्रदेश सरकारसँग सशुल्क फार्मेसीका लागि माग गरेको बताउनुभयो ।
    
    साहसिक पदयात्राको प्रवेशद्वार चामेमा अवस्थित अस्पतालले विदेशी तथा स्वदेशी पर्यटकलाई पनि स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । प्रत्येक वर्ष लेक लागेर अकालमा हुने मृत्युदर घटाउनमा पनि अस्पतालले निकै ठूलो भूमिका खेलिरहेको छ । 

बिहीबार ३ साउन २०८१ ०२:१७ PM मा प्रकाशित

प्रतिक्रिया