×

गोदावरीका शिवालयमा भक्तजनको भीड

images

गोदावरी नगरपालिकामा अवस्थित सन्तानेश्वर र सिद्धेश्वर शिवालयमा भक्तजनको भीड लागेको छ । साउन महिनाको पहिलो सोमबार भएसँगै आज उक्त मन्दिरमा महादेवको दर्शन तथा पूजा र आराधनाका लागि दर्शनार्थीको चहलपहल बढेको हो । वडा नं १३ स्थित सन्तानेश्वर महादेव दर्शनका लागि बिहानैदेखि श्रद्धालुजनको आवतजावत रहेको सन्तानेश्वर मन्दिर संरक्षण तथा सम्बद्र्धन सेवा समितिका अध्यक्ष विनोद खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “ कोरोना महामारी घटेसँगै उपत्यकामा रहेका देशभरका मानिसको उल्लेखनीय उपस्थिति रहेको छ ।” मन्दिरमा पूजाका साथै बत्ती बाल्ने, बोलबम तथा भजनकीर्तन गर्ने र स्थानीय क्षेत्रमा उत्पादन भएका तरकारी तथा फलफूल बिक्री वितरण गर्ने मानिसको बाक्लै घुइँचो रहेको खड्काले जानकारी गराउनुभयो । 

यसैगरी वडा नं ३ स्थित प्रत्येक १२ वर्षमा कुम्भ अर्थात सिंहास्त मेला लाग्ने सिद्धेश्वर महादेव मन्दिरमा हिन्दू धर्मावलम्बी महिलाको चहलपहल बढिनैरहेको गोदावरी कुण्ड तथा सिद्धेश्वर महादेव मन्दिरका महन्त राधाकृष्ण पुरीले बताउनुभयो । मुलुकमा गतवर्ष कोरोना महामारी सङ्क्रमण बढिरहँदा भक्तजन ठप्प भएको मन्दिरमा यो वर्ष दर्शनार्थी भित्रिँदा निकै उत्साह छाइरहेको पुरीको भनाइ छ । उहाँले भन्नुभयो, “सन्तानेश्वर मन्दिरमा हरेक शनिबार, साउने सोमबार, जनैपूर्णिमाका साथै स्वस्थानी प्रारम्भदेखि अन्त्यसम्म र शिवरात्रीमासमेत ठूलो मेला लाग्ने गर्छ ।”  सातदोबाटोबाट पाँच किलोमिटर दक्षिणपूर्वमा रहेको सो महादेव मन्दिरबाट उपत्यकाका तीनै सहरको दृश्यावलोकन गर्न सकिन्छ । 

सो मन्दिर हाताभित्र १५० रोपनी जमिन रहेकाले दैनिक खर्च व्यवस्थापनका लागि फलफूल तथा औषधिजन्य बिरुवाको उत्पादनमा जोड दिने उद्देश्य बमोजिम आउँदो सोमबार ५४ श्रीखण्डको बिरुवा रोप्ने कार्यक्रम तय गरिएको छ । उहाँले अघिल्ला वर्षमा बेल, रुद्राक्ष, पारिजात, अमला, लगायतका ३५ जातका फूल र फलफूलका बिरुवा रोपेर मन्दिरको वातावरण हराभर गरिएको बताउनुभयो । सो दुई मन्दिरका अलवा वडा नं ४ बडिखेलमा अवस्थित तपेश्वर महादेव मन्दिरमा पनि साउनको पहिलोे सोमबार बिहानैदेखि भक्तजन भित्रिरहेका देखिन्छन् ।

सोमबार २ साउन २०७९ ०२:१० PM मा प्रकाशित

प्रतिक्रिया