×

जो भ्रष्टाचारमा मुछिए, लाग्यो राजनीतिमा ग्रहण

images

काठमाडौं । भ्रष्टाचारमा मुछिएपछि नेताहरूको राजनीतिक जीवनमा पूर्ण रूपले ग्रहण लाग्ने भए पनि नेपालमा भ्रष्टाचार संस्थागत हुने क्रम रोकिएको छैन । राजनीतिक नेतृत्वकै डिजाइनमा विभिन्न खाले भ्रष्टाचार भइरहेको भए पनि भ्रष्टाचारकै कारण केहीको राजनीतिक जीवन समाप्त भएको छ भने धेरैले उन्मुक्ति पाउँदै आएका छन् ।

पछिल्लो समयमा नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि पक्राउ परेका कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँणको राजनीतिक जीवनमा पनि ग्रहण लाग्ने देखिएको छ । यस्तै, सोही प्रकरणमा मुछिएर पक्राउ परेका एमालेका नेता तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीको राजनीतिक जीवन पनि संकटोन्मुख देखिएको छ ।

यसअघि भ्रष्टाचार काण्डमा परेर कांग्रेसका धेरै नेताहरूको राजनीतिक जीवन समाप्त भएको थियो । धेरै पटक मन्त्री भइसकेका कांग्रेसका नेताहरू खुमबहादुर खड्का, गोविन्दराज जोशी, चिरञ्जिवी वाग्ले, जयप्रकाश प्रसाद गुप्ता, तारणीदत्त चटौत, विजयकुमार गच्छदारलगायतले भ्रष्टाचार मुद्दा खेप्नु परेपछि उनीहरूको राजनीति समाप्त भएको थियो ।

नेपालमा ‘हाइप्रोफाइल’ अर्थात उच्चतहको राजनीतिक नेतृत्वबाट हुने गरेका भ्रष्टाचारको पुनरावृति दोहोरिएको छ । विगतमा भएका भ्रष्टाचारका फाइलहरू कति बाहिरिएका छन् त कति अझै गोप्य राखिए पनि पछिल्लो पटक नक्कली भुटानी शरणार्थी प्रकरणले ‘हाइप्रोफाइल’ राजनीतिमा भ्रष्टाचारको पुनरावृत्ति भएको पुष्टि गरेको हो ।

नेपाली नागरिकलाई भुटानी शरणार्थीको नक्कली कागजात बनाएर अमेरिका पठाउने प्रपञ्चमा करोडौं रकम उठाएको आरोपमा प्रहरीले पूर्व उपप्रधानमन्त्री र पूर्व गृहमन्त्रीसहित सरकारी उच्चअधिकारी पक्राउ गरेको छ । उक्त प्रकरणमा पक्राउ परेका एमाले नेता तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी र कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणले बयानका क्रममा पीडितबाट रकम लिएको स्वीकार गरिसकेका छन् ।

नेताहरूसँगै वहालवाला सचिव टेकनारायण पाण्डे र पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहाकार इन्द्रजित राई, बालदलका छोरा प्रतीक, टोबहादुर रायमाझीका छोरा सन्दीप र इन्द्रजितका छोरा निरज राई समेत जोडिएर संगठित अपराध गरेको आरोप छ । यो घटनाले भ्रष्टाचार गर्नकै लागि राजनीति गर्ने र उच्च ओहदामा पुगेपछि सम्पत्ति कमाउने होडबाजीले निरन्तरता पाएको देखिन्छ ।

राजनीतिक उच्च तहमा पुगेका नेताहरूले पदको दुरुपयोग गरी अकुत सम्पत्ति कमाउने गरेको इतिहास साक्षी छ । अहिले पनि सोही इतिहासलाई निरन्तरता दिँदै नेताहरूले भ्रष्टाचार गर्ने र भ्रष्टहरूको संरक्षण कार्यलाई निरन्तरता दिएको देखिन्छ । यस्ता काण्डमा कतिपय नेताहरूलाई जोगाइएको छ भने कतिपय सजाए भोगेपछि राजनीतिबाटै पलायन भएका छन् । भ्रष्टाचारको काण्डमा सजाय भोगेकाहरू पुनः राजनीतिमा उदय भएका छैनन् भने भ्रष्टाचारलाई सामसुम बनाएर मिलाउनेहरू अझै राजनीतिमा सक्रिय नै देखिन्छन् । आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।

बिहीबार ४ जेठ २०८० ०८:२९ AM मा प्रकाशित

प्रतिक्रिया