काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति खड्काले मंसिरमा नियमित महाधिवेशनमा जोड दिनुपर्ने धारणा राखेका छन् ।
विहिबार केन्द्रीय समितिको बैठकमा बोल्दै खड्काले विशेष महाधिवेशनका लागि विधानमा व्यवस्था भएअनुसार हस्ताक्षर आएको जानकारी गराउदै त्यसमा अध्ययन गरेर प्रक्रिया अगाडि बढाउने बताए । उनले भने- 'मलाई विश्वास छ, विशेष अधिवेशनका मागकर्ता साथीहरूले मंसिर मसान्तभित्रमा नियमित अधिवेशन हुनुपर्छ भन्ने विषय मुख्य हो भन्नुभएकाले यो बैठक टुंगिने बेलासम्म हामी नियमित महाधिवेशन समयमै गर्ने समझदारीमा पुग्ने छौं ।'
कार्यवाहक सभापतिले विशेष महाधिवेशन आवश्यक नरहेकाले मंसिरमा नियमित महाधिवेशन गर्ने विषयमा टुंगो लगाउनुपर्ने धारणा राखेका थिए । बैठकमा महामन्त्री गगनकुमार थापाले महाधिवेशन प्रतिनिधिहरूले गरेको हस्ताक्षरसहितको प्रस्ताव दर्ता गराएका थिए ।
त्यस्तै बैठकमा बोल्दै नेता शेखर कोइरालाले मङ्सिरमा महाधिवेशनको तालिका ल्याउन आग्रह गरेका थिए । उनले अन्य दलले मङ्सिरमै महाधिवेशन गर्न सक्ने तर कांग्रेसले किन नसक्ने भन्दै बैठकमा तालिका प्रस्तुत गर्न महामन्त्रीहरुलाई आग्रह गरेका थिए ।
मंगलबारको बैठकमा सभापति शेरबहादुर देउवाले खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिदै नियमित महाधिवेशन गर्नुपर्ने बताएका थिए ।
कांग्रेसमा नेतृत्व परिवर्तनको बहस चलिरहेका बेला बसिरहेको यस केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति तोक्ने सम्भावना रहेको छ । सभापति देउवा पक्षका नेताहरुले मङ्सिरसम्म समय नपुग्ने भन्दै नियमित महाधिवेशन गर्न नसकिने बताउदै आएका छन् ।
प्रतिक्रिया