काठमाडौं । एसिया कप छनोटको आधारको रुपमा रहेको एसीसी प्रिमियर कप आजदेखि काठमाडौंमा सुरु हुँदैछ । उदघाटन खेलमा घरेलु टोली नेपालले मलेसियासँग खेल्दैछ ।
समूह ‘ए’ मा रहेको नेपाल र मलेसियाबीचको खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान साढे ९ बजे सुरु हुनेछ ।यस्तै समूह ‘बी’ अन्तर्गत हङकङ र सिंगापुरको खेल आजै मूलपानी मैदानमा हुनेछ । यसै खेलबाट मूलपानी मैदानमा अन्तर्राष्ट्रिय प्रतियोगिताको पहिलो खेल हुनेछ ।
झण्डै एक दशकपछि पहिलो पटक एसीसीको प्रतियोगिता आयोजना अधिकार पाएको नेपालले आयोजक र टिमको रुपमा तयारी गरेको छ । नेपाल क्रिकेट संघ क्यानले टीयू र मूलपानी दुवै मैदानलाई तयार पारेको छ यस्तै मुख्य प्रशिक्षक मोन्टी देसाईले पनि नेपाली टिमलाई प्रिमियर कपका लागि तयार पारेका छन् । अघिल्लो महिना घरेलु मैदान क्रिकेट विश्वकप लिग टु खेलेकै टिमलाई उनले निरन्तरता दिएका छन् । रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय नेपाली टोली तयार छ ।
लिग टुमा पछिल्लो १२ खेलमा सानदार प्रदर्शन गरेको नेपाली टोली उत्कृष्ट लयमा छ । मलेसिया विरुद्ध पहिलो खेल खेल्दै नेपालले एसिया कपमा पुग्ने अभियानको सुरुवात गर्नेछ । यस प्रतियोगिताको विजेता सेप्टेम्बरमा हुने एसिया कपमा भारत र पाकिस्तान रहेको समूहमा खेल्न पाउने भएकाले पनि अझै विशेष छ ।
नेपालले एसीसी प्रिमियर कपको उपाधि जितेमा ऐतिहासिक रुपमा एसिया कपमा छनोट भएर भारत पाकिस्तानसँग खेल्ने अवसर पाउनेछ । त्यसैले पनि नेपाली टोली र क्रिकेट समर्थक अहिले निकै उत्साहित छन्
प्रतिक्रिया