×

नेकपा एमालेले बिहानैदेखि घेराउ गरेपछि अत्तरिया बजारमा तनाव सिर्जना

images

काठमाडौं । कैलालीको गोदावरी नगरपालिका नेकपा एमालेले बिहानैदेखि घेराउ गरेपछि अत्तरिया बजारमा तनाव सिर्जना भएको छ । आज बिहीबार नगरप्रमुखले भवन उद्घाटन गर्ने कार्यक्रममा तनाव सिर्जना भएको हो ।

निर्माण सम्पन्न नहुँदै यसअघि २०७८ चैत १४ गते एमालेबाट निर्वाचित तत्कालीन नगरप्रमुख हरिसिंह साउदले उद्घाटन गरेको उक्त प्रशासनिक भवनको कांग्रेसबाट निर्वाचित अहिलेका प्रमुख वीरेन्द्र भट्टले फेरि उद्घाटन कार्यक्रम राखेपछि तनाव सिर्जना भएको हो । प्रशासनिक भवन पुनः उद्घाटन गर्ने काम अलोकतान्त्रिक भएको भन्दै विरोधमा उत्रिएको नेकपा एमालेले नगरपालिका घेराउ गरेको छ ।

एमालेले कुनै पनि हालतमा प्रशासनिक भवनको उद्घाटन गर्न नदिने अडान लिँदै विरोध जनाउँदै नगरपालिका कार्यालय घेराउ गरेको हो । एमाले नगर कमिटीका कार्यवाहक अध्यक्ष सन्तोष सिंहले बल प्रयोग गरी भवन उद्घाटन गरिए त्यसपछि आउन सक्ने गम्भीर परिस्थितिको जिम्मेवारी नगरप्रमुखले लिनुपर्ने बताए ।

यता, भवन निर्माण सम्पन्न भएर सहयोगी दाताबाट हस्तान्तरण नहुँदै उद्घाटन गरिएकाले सो उद्घाटन वैध नभएको भन्दै एमालेबाहेकका छ राजनीतिक दलले विरोध जनाएको स्मरण गराउँदै नगरप्रमुख भट्टले भवन निर्माण सम्पन्न भएर नगरपालिकालाई हस्तान्तरण भएकाले उद्घाटन गर्नुपरेको बताए ।

बिहीबार ४ माघ २०८० ०१:५९ PM मा प्रकाशित

प्रतिक्रिया