×

राष्ट्रिय सभाको माघ ११ गते हुने निर्वाचनको कार्यक्रम सार्बजनिक

images

काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ ।

आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रमअनुसार आगामी पुस १९ गते बिहान १० बजेदेखि ११ बजेसम्म नामावली प्रकाशन, नामावलीमाथि दाबी विरोध तथा उजुरीमाथि छानबिन गरी पुस २२ गते दिउँसो ३ बजेदेखि ४ बजेसम्म अन्तिम नामावली प्रकाशन हुनेछ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पुस २३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन, पुस २४ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी, पुस २७ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने र दिउँसो १ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारीको अन्तिम नामावली प्रकाशन हुनेछ । पुस २८ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ ।

राष्ट्रिय सभाका १८ सदस्यको निर्वाचन माघ ११ गते सम्बन्धित मतदान केन्द्रमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने आयोगले जनाएको छ ।

यी हुन् राष्ट्रिय सभाको कार्यकाल अकिने १९ सदस्य:

फागुन २० मा पदावधि सकिने सांसदमा सबैभन्दा बढी नेकपा एमालेका ८ जना, नेकपा माओवादी केन्द्रका ७ जना, नेकपा एकीकृत समाजवादी, जसपा र लोसपाका एक–एक जना रहेका छन् । त्यस्तै एक जना मनोनीत सांसद छन्  ।

पदावधि सकिने एमालेका सांसदमा इन्दिरादेवी गौतम, गोपाल भट्टराई, तुलसाकुमारी दाहाल, देवेन्द्र दाहाल, भगवती न्यौपाने, विमला घिमिरे, शारदादेवी भट्ट र सुमित्रा बीसी रहेका छन् । त्यस्तै माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ, गोपीबहादुर अछामी, गंगाकुमारी बेलवासे, जगप्रसाद शर्मा, तारामान स्वाँर, मायाप्रसाद शर्मा र राधेश्याम पासवान रहेका छन् ।

एकीकृत समाजवादीका डा. बेदुराम भुसाल र बामदेव गौतमको कार्यकाल सकिँदैछ । गौतम राष्ट्रपतिबाट मनोनित सांसद हुन तर हाल उनी एकिकृत समाजवादीमा रहेका छन् । त्यस्तै जसपा नेपालका मृगेन्द्रकुमारसिंह यादव र लोसपाका शेखरकुमार सिंहको पदावधि सकिदैछ ।

राष्ट्रिय सभाको सांसदको निर्वाचनमा प्रदेशका सांसद, नगरपालिका तथा गाउँपालिकाका प्रमुख र उपप्रमुख मतदाता हुने गर्दछन् । ५९ सदस्यीय राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट ८-८ जना र ३ जना राष्ट्रपतिबाट मनोनित हुने व्यवस्था रहेको छ । प्रदेशबाट निर्वाचित हुने ८ जनामा तीन जना महिला, एक जना दलित, एक जना अपाङ्गता भएका वा अल्पसङ्ख्यक सदस्य हुने व्यवस्था गरिएको छ भने अन्य तीन जना खुला उम्मेदवार हुने गर्दछन् । 

सोमबार २ मंसिर २०८२ ०९:२२ AM मा प्रकाशित

प्रतिक्रिया