×

सूर्यविनायक नगरपालिका- पुल तर्न २० रुपैयाँ

images

भक्तपुर । सूर्यविनायक नगरपालिकाले खोला नरहेको स्थानमा बनाइएको सार्वजनिक झोलुङ्गे पुल तर्नेसँग शुल्क असुल्दै आएको छ। नगरपालिकाको वडा नं ९ र १० को सिमाना साँगामा बनाइएको झोलुङ्गे पुल तर्न २० रुपैयाँ तिर्नुपर्ने हुन्छ। दुईवटा डाँडालाई जोड्न बनाइएको सो पुल तरेबापत शुल्क लाग्ने विषय अहिले विवादित भएको छ।

सूर्यविनायक नगरपालिकाले पर्यटकीय गतिविधि बढाउने उद्देश्यले सङ्घीय सरकारको सहयोगमा एक करोड छ लाख रुपैयाँको लागतमा पुल निर्माण गरेको थियो। नगरपालिकाका प्रवक्ता रवीन्द्र सापकोटाले पर्यटन क्षेत्रको विकासका लागि शुल्क लिने गरिएको तर्क गरे।

सो क्षेत्रको अवलोकन गर्न सार्वजनिक बिदामा दैनिक हजारौँको सङ्ख्यामा पर्यटक यहाँ आउने गरेका छन्। उनले पर्यटकका लागि थप भौतिक पूर्वाधारको विकास गराउन न्यून शुल्क लिनु परेको दाबी गरे। “केही समयमै भ्यु प्वाइन्ट, शौचालयलगायतका सुविधा बढाउँदै छौँ,” उनले भने, “नगर कार्यपालिकाको बैठकबाटै पुल तरेबापत शुल्क लिने निर्णयपछि बोलपत्र आह्वान गरेर वार्षिक ३६ लाख रुपियाँमा रविचन्द्र कन्स्ट्रक्सनलाई ठेक्का दिइएको छ।”

पुल निर्माण गरिएको वडा नं। ९ र १० का स्थानीयले पुल प्रयोग गरेबापत शुल्क तिर्नु नपर्ने र सूर्यविनायक नगरपालिकाका बासिन्दालाई ५० प्रतिशत छुट दिइएको छ। सार्वजनिक बिदामा अत्यधिक भीड हुने भएकाले सो भीड व्यवस्थापनका लागि रकम उठाइएको भनाइ नगरपालिकाको छ।

नगरपालिकाले शुल्क उठाउन गरेको निर्णयप्रति स्थानीय बासिन्दा र अवलोकनकर्ता सन्तुष्ट छैनन्। काभ्रेपलाञ्चोकबाट पुल तरी अग्लो महादेवको दर्शन गर्न आएका अरबिन्द गौतमले स्थानीय तहले रकम असुल्ने माध्यम बनाएको गुनासो गरे। काठमाडौंबाट महादेव मन्दिरमा आएकी सीता पोखरेलले २० रुपैयाँ तिर्नु ठूलो कुरा नभए पनि स्थानीय तहले राजस्व उठाउनकै लागि गलत काम गरेको बताईन्। file photo/गोरखापत्र दैनिकबाट

सोमबार ३१ असोज २०७९ ०८:५५ AM मा प्रकाशित

प्रतिक्रिया