काठमाडौँ । विभिन्न १५ बुँदे माग राख्दै आन्दोलनरत नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घ र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबीच सहमति भएसँगै घोषित आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता भएका छन्। सहमतिसँगै वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई विदेश पठाउने कार्यमा देखिएको अन्योल र अवरोध हटेको छ।
सोमबार मन्त्रालयमा मन्त्री, सचिव र सङ्घका प्रतिनिधिहरूबीच भएको वार्तामा व्यवसायीका मागहरू ऐन तथा नियमावली संशोधनका क्रममा सम्बोधन गर्ने सहमति भएको हो।
व्यवसायीहरूले आफ्ना माग पूरा नभएको भन्दै भदौ १ गतेदेखि देशभरका म्यानपावर कम्पनीहरूको काम-कारोबारका साथै श्रमिक उडानसमेत ठप्प पार्ने चेतावनी दिएका थिए।
वार्तापछि मन्त्रालयका प्रवक्ता पीताम्बर घिमिरेले विज्ञप्ति जारी गर्दै व्यवसायीहरूले आन्दोलन स्थगित गरेको र नियमित सेवा प्रवाह सुचारु भएको जानकारी दिएका छन्। सहमतिसँगै पूर्व-अन्तिम श्रम स्वीकृति, नयाँ विज्ञापन र वैदेशिक रोजगारसम्बन्धी प्रक्रिया पुनः सञ्चालनमा आएका छन्।
प्रतिक्रिया