×

मनाइयो साउने (कर्कट) सङ्क्रान्ति

images

असार महिनामा धान रोप्दा लागेको हिलो पखाली छाला रोग नलागोस् भन्ने कामनाले आज साँझ घर घरमा लुतो फाली साउने सङ्क्रान्ति पर्व मनाइएको छ ।
 
    नेपालीले परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी बेलुकी अगुल्टो फाल्ने विधि छ । यसलाई लुतो फाल्ने भनिन्छ । यो विधि साउने सङ्क्रान्तिको बेलुकी सम्पन्न गरिन्छ ।

    अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन् । त्यस क्रममा हिलो मैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको धर्मशास्त्रविद् प्रा तोयराज नेपाल बताउनुहुन्छ । 

    लुतो फाल्दा आ–आफ्नो कूल परम्पराअनुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्ति पर्व मनाइएको हो । 

    साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेष रुपमा मनाउने गरिन्छ । एक महिना काम गर्ने किसान साउन १ गते आफन्तका साथ जम्मा भई रमाइलो गरेर मनाएका छन् ।  

    साउन महिनालाई विशेष रुपमा भगवान् शिवको पूजा गरेर मनाइन्छ । महिलाले हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गरिएको पनि धर्मशास्त्रविद् गौतमले बताउनुभयो ।

    साउन महिनाभर देशभरका शिवालय विशेषगरी पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष भीड लाग्छ । साउन महिना शिवजीको र सोमबारलाई शिवको बार भनिन्छ । यसैले साउन महिना एवं सोमबार शिवालयमा भक्तजनको विशेष भीड लाग्ने गरेको हो ।

    यस अवसरमा पशुपतिनाथ मन्दिरमा आज बिहानैदेखि भक्तजनको भीड लागेको छ । आज सौरमासअनुसार साउनको पहिलो सोमबार भएकाले पनि पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको हो ।
–––

सोमबार १ साउन २०८० ०९:०० PM मा प्रकाशित

प्रतिक्रिया